एमाले सचिवालय बैठक
काठमाडौँ। नेकपा एमालेले २१ फागुनमा हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज (आइतबार) बसेको बैठकले आयोगमा समानुपातिकतर्फको बन्दसूची भोलि (सोमबार) बुझाउने निर्णय गरेको एमालै उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्दसूचीलाई नै अन्तिम रुप दिएर आयोगमा बुझाउनेछ। उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताए।
निर्वाचन आयोगले सोमबारसम्म निर्वाचनमा भाग लिने दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउने समय तोकेको छ। “अध्यक्ष ओलीले आज पेस गर्नुभएको बन्द सूचीबारे छलफल गरी पारित गरिएको छ। अध्यक्ष ओलीले आवश्यक ठानेमा बन्द सूचीलाई सच्चाएर आयोगमा पठाउने निर्णय गरिएको छ‚” उनले भने।
बैठकमा अध्यक्ष ओलीले निर्वाचन भयरहित बनाउने र पार्टीका नेता तथा कार्यकर्ता टोलसम्म जाने वातावरण अझै नभएको भन्दै सुरक्षा प्रत्याभूति सरकारले अझै बनाउन नसकेको बताएका थिए। उपमहासचिव भट्टका अनुसार अध्यक्ष ओलीले पार्टीको जनवर्गीय सङ्गठन नेसनल भोलिन्टियर्स फोर्स प्रत्येक बुथमा राख्नुपर्नेमा जोड दिएका थिए। पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक सचिवालय बैठक बसेको हो।