काठमाडौँ। पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकीकरण गर्ने सहमति भएको छ।
२१ फागुनको निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदै गर्दा यी दुई दलबीच एकताको सहमति जुटेको हो।
यी दुई दलको एकताको सहमतिमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र समाजवादको दिशामा अगाडि बढ्ने साझा लक्ष्यसहित दुवै पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न तारा नै हुनेछ। दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन्।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समितिलगायत सबै संरचना र जनवर्गीय संगठन आपसी सहमतिमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गरिने पनि सहमति पत्रमा उल्लेख छ। यस्तै विगतका अनुभवको वस्तुनिष्ठ समीक्षा गर्दै संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादतर्फ अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।
सहमति पत्रमा महिला, थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग र क्षेत्रका समुदायलाई राज्यका सबै तहमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
कैलालीको टीकापुर नरसंहारसँग सम्बन्धित प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दा खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।
सहमति पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकीकरण भइनसक्दै रञ्जिता नेकपामा समाहित भएकी हुन्।
यस्तो छ १० बुँदे सम्झौता :
१. विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी वहन गर्दा भए गरेका सकारात्मक र दुर्बल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमी कमजोरीहरू सच्चाउने र सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको मापदण्ड समाजवादको दिशामा अगाडि बढ्ने ।
२. मुलुकको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डताको रक्षा गर्दै परिवर्तन र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट सङ्घर्ष गर्ने ।
३. समाजवादका लागि नेपालीको मौलिक बाटोको रूपमा संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कामको पहलकदमी र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अङ्गीकार गर्ने र त्यसको आधारमा देशको सामाजिक–आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने ।
४. पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सहभागितालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिअनुरूप सञ्चालन गर्ने ।
५. नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा रहने छ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुनेछन् ।
६. नागरिक उन्मुक्ति पार्टीको सङ्गठनात्मक संरचनामा रहेका केन्द्रीय समितिलगायत सबैका सम्पूर्ण समितिहरू र जनवर्गीय सङ्गठनहरू आपसी सहमतिका आधारमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गर्ने ।
७. नेपालको वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचनाको सवलिकरणलगायतका विषयमा नवयुवा पुस्ताको समेत भावनाको आधारमा राष्ट्रको सर्वोपरि हितमा संविधान संशोधन र अग्रगामी परिमार्जन गर्न पहल गर्ने ।
८. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरूपले बहिष्करणमा परेका वा पछाडिएका महिला, थारू, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग पिछडिएका क्षेत्रगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अङ्गमा, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने ।
९. देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिई समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने ।
१०. टिकापुर घटनाका सम्बन्धमा कुनैपनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका भ्रष्ट मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने ।
उपर्युक्त नीति, सिद्धान्त र विचारमा सहमत सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन हामी हार्दिक अनुरोध गर्दछौं ।
