काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा दुईदिने खोज पत्रकारिता तालिममा १६ पत्रकार सहभागी भएका छन्।
आइतबार र सोमबार भएको तालिममा तीन प्रशिक्षकले खोज पत्रकारिताका विषयमा प्रशिक्षण गरेका थिए। खोज पत्रकारिताका विषयमा नाफिजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालसहित रुद्र पंगेनी र श्रीधर खनालले सहभागीलाई तालिम दिए।
प्रशिक्षक पंगेनीले खोज पत्रकारिता गर्दा ध्यान दिनुपर्ने कुरा, आवश्यक तथ्यांक तथा प्रमाण संकलन गर्ने र सिलसिलेबार रुपमा गर्नुपर्ने कामका विषयमा सहभागीलाई जानकारी दिए। यस्तै प्रशिक्षक खनालले अहिलेको अवस्थामा खोज पत्रकारिता र तथ्यांकको प्रयोगका विषयमा जानकारी दिएका थिए। ढकालले भने तथ्यांकमा टेकेर समाचार लेख्नुपर्ने र त्यसले समाचारलाई बलियो बनाउने बताए। साथै उनले नजानेको कुरा बुझ्न र सिक्न पछि नहट्न पनि आग्रह गरे।
कार्यक्रममा सहभागि नाफिज सदस्यहरुले तालिमबाट नयाँ कुरा सिक्न पाएकामा खुसी जनाए। नाफिज अध्यक्ष मेनुका कार्कीले यस्ता कार्यक्रमले नाफिजका सदस्यको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइन्।