काठमाडौँ। रास्वपाकी पूर्वनेता सुमना श्रेष्ठले नयाँ रास्वपालाई नयाँ सम्भावनाको फल्ने-फुल्ने वातावारण मिलोस् भन्दै शुभकामना दिएकी छन्।
उनले आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा नगएको बरु नेपालीलाई नेपाली मात्र भएर बाँच्न सक्ने अवसर बनाउनेबाहेक आफ्नो कुनै एजेन्डा नरहेको बताएकी छन्। उनले
आफूमाथि राजनीतिबाटै पाखा लगाउन मिडिया ट्रायल र साइबर बुलिङ भएको पनि आरोप लगाएकी छन्।
“मेरो राजनीतिक भविष्यको चिन्ताको सट्टा देश र तपाईंलाई भरोसा लाग्ने पार्टीभित्रको लोकतान्त्रिक मूल्य-मान्यता जोगाउने चिन्ता लिनुहोला‚” सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्‚ “त्योबिना जो जहाँबाट जोडिएर जिते पनि अन्तिममा जनता र देशले हार्नेछ।
नयाँ रास्वपामा नयाँ सम्भावनाहरुले फल्ने-फुल्ने वातावारण मिलोस्। शुभकामना। बधाई भन्न पाइयोस्।”
उनले राजनीतिक दलहरूबीच प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल नगर्न अनुरोध पनि गरेकी छन्। “राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साईबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकी रहँदैन‚” उनले भनेकी छन्‚ “नयाँ रास्वपामा नयाँ-पुराना साथीहरूले अहिले उठाउनुभएको प्रश्नहरु अहिलेको नेतृत्वले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौँ। सही प्रश्नले मात्र दललाई सही दिशा दिन सक्छ भन्ने ज्ञात रहोस्।”
उनले आफ्नो राजनीतिक यात्राबारे अनुमानमा धारणा नबनाउन पनि अनुरोध गरेकी छन्। सुमनाले आफू सधैँ जनताकै माझ रहने पनि बताइन्। ‘मेरो राजनीतिक यात्राबारे मलाई सोधेर भन्दा अनुमानका भरमा समाचार र धारणा नबनाइदिनुहोला। म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीका लागि जनता माझ थिए र अनवरत छु‚” उनले भनिन्‚ “दल, चिह्न, पद, भूमिका सबै अस्थायी हुन् जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो। मप्रतिको चासो र चिन्ता को लागि धन्यवाद। केही नियोजित गालीबाहेक सबै चासो, चिन्ता र आलोचनामा तपाईंहरुले मप्रति देखाउनुभएको माया भन्ने बुझेकी छु।”