काठमाडौँ
००:००:००
१७ पुष २०८२, बिहीबार

१७ पुष २०८२
अ+
अ-

काभ्रेपलाञ्चोक। गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर संचालनमा छ।

बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवत जावत भइरहेको छ। खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ।

अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ। यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।