२५ पुष २०८२
पशुपतिनाथमा सञ्जय दत्त। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। बलिउड अभिनेता सञ्जय दत्त २४ घण्टा पनि नबिताई मुम्बई फर्किएका छन्। दत्त बिहीबार साँझ ठमेलको होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनो उद्घाटनका लागि नेपाल आएका थिए।

नेपाल बसाइमा दत्तले पशुपतिनाथको दर्शनसमेत गरे।

दुबईबाट चार्टर्ड विमानमार्फत काठमाडौँ आइपुगेका दत्तले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग पनि भेटघाट गरेका थिए। दाहालले अभिनेता दत्तसँग भएको भेटको तस्बिर फेसबुकमा सार्वजनिकसमेत गरेका छन्। उनले लेखेका छन्, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। मुन्ना भाइ एमबीबीएसमा उहाँको अभिनयको म सधैँ प्रशंसक रहेको छु,’ नेता दाहालले लेखेका छन्, ‘उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ।’

मुन्ना भाइ शृंखला, रकी, वास्तव, साजन, खलनायकजस्ता चर्चित फिल्ममा अभिनय गरेका दत्त पछिल्लोपटक ब्लकबस्टर फिल्म धुरन्धरमा पनि देखिएका थिए।

उनी निजी जेटमार्फत शुक्रबार दिउँसो २ बजे नै मुम्बई फर्किसकेका छन्।