तेहरान। इरानमा सरकारविरोधी प्रदर्शन चुलिँदा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो साता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या ११६ पुगेको मानवअधिकार कार्यकर्ताहरूले जनाएका छन्। इन्टरनेट र फोन सेवा अवरुद्ध गरिएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरका सडकहरू प्रदर्शनकारीले भरिएका छन्।
अमेरिकास्थित मानवअधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ। झन्डै दुई हजार ६०० जनालाई हिरासतमा लिइएको छ। इरानले इन्टरनेट पूर्ण रूपमा बन्द गरेपछि घटनाको वास्तविक विवरण सङ्कलन गर्न कठिन भएको छ। नेटब्लक्सजस्ता अनुगमन संस्थाहरूले बिहीबारदेखि देशमा झन्डै कुनै पनि इन्टरनेट कनेक्टिभिटी नदेखिएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन भए ‘ठूलो समस्या’ हुने बताएका छन्। सामाजिक सञ्जालमा उनले ‘इरानका जनता अहिले स्वतन्त्रता पाउने निकै नजिक पुगेका छन्‚ यस्तो अवस्था पहिले कहिल्यै आएको थिएन‚ यदि आवश्यक पर्यो भने अमेरिका उनीहरूलाई सहयोग गर्न तयार छ’ भन्दै अमेरिका सहयोग गर्न तयार रहेको उल्लेख गरे। अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य कारबाहीका विकल्पबारे जानकारी दिइए पनि अन्तिम निर्णय भएको छैन।
इन्टरनेट अवरोधका बीच पनि सामाजिक सञ्जाल र विदेशस्थित फारसी भाषी टेलिभिजनमार्फत बाहिरिएका भिडियोहरूमा उत्तरी तेहरानको पुनाक क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएको देखिन्छ। उनीहरूले मोबाइल फोनको उज्यालो बाल्दै नारा लगाएका छन्। भाँडाकुँडा बजाएका छन् र कतिपय स्थानमा आतशबाजी गरिएको छ। अन्य दृश्यमा मानिस शान्तिपूर्ण रूपमा सडकमा मार्च गरिरहेका छन्। कतै कारहरूले समर्थनमा हर्न बजाएका छन्।
इरानी राज्य टेलिभिजनले भने आइतबार धेरै सहरका शान्त क्षेत्र देखाउने प्रयास गरेको छ र सरकार समर्थक जुलुसहरू प्रसारण गरेको छ। तर तेहरान र मसहदका दृश्यहरू समेटिएका छैनन्। सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले शुक्रबार एक भाषणमा प्रदर्शनलाई बाह्य शक्तिद्वारा उक्साइएको भन्दै अमेरिकी चेतावनीको अवज्ञा गरेका छन्। यसैबीच इरानका महान्यायाधिवक्ता मोहम्मद मोभेदी आजादले विरोध प्रदर्शनमा सहभागीलाई ‘ईश्वरको शत्रु’ ठहरिने र मृत्युदण्डसम्मको अभियोग लाग्न सक्ने चेतावनी दिए।