काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
अ+
अ-

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ ।

माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर– १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ ।

थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । सुँगुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन् ।

कसरी बनाइन्छ ढिक्री ?
चामलको पीठोबाट ढिक्री बन्छ । पीठोलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ ।

खासगरी माघीमा लाम्चो आकार दिए पनि दसैँमा भने गोलो आकारको बनाइन्छ । त्यस्तै तिहारमा चेप्टो, दियो जस्तो बनाइन्छ । त्यसलाई पानीको बाफमा आधा घण्टा जति उसिनेपछि ढिक्री तयार हुन्छ ।

खासगरी उसिनेर ढिक्री बनाइने भएकाले त्यसले स्वास्थ्यमा असर गर्दैन । किनकि त्यसमा चिल्लो पनि हुँदैन भने चिनी पनि राखिँदैन । यसरी ढिक्री खाएमा मान्छेको आयु बढ्ने मान्यता रहेको छ ।