काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतमले नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।
नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनमा उनले अस्वस्थ जीवनशैली, खानपिनलगायत कारणले पछिल्लो समय नसर्ने रोगीको सङ्ख्या बढ्दै गएकाले यसको उपचार लागतले सरकारमाथि ठूलो आर्थिक भार पारिरहेको धारणा राखिन्।
“सरकारको खर्चको सबैभन्दा ठुलो हिस्सा नसर्ने रोगको उपचारमा खर्च गर्दै आएको देखिन्छ। धेरैजसो खर्च रोकथामको सट्टा उपचारमा निर्देशित छ‚” उनले भनिन्, “नसर्ने रोगको उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ। क्यान्सर र मुटुजस्ता रोगको उपचारमा वार्षिक अर्बौं रुपैयाँ खर्च गरिन्छ। जबकि रोकथाम कार्यक्रम कमजोर रूपमा सञ्चालन भएका छन्।”
मन्त्री गौतमले नसर्ने रोग रोकथाम गर्न जीनवशैली र खानपिनमा जोड दिनुपर्ने बताउँदै यसबाट दीर्घकालीन लागतलाई उल्लेखनीय रूपमा घटाउन र जनस्वास्थ्य परिणाम सुधार गर्न सकिने धारणा राखिन्। उनले सहरी क्षेत्रमा तुलनात्मक रूपमा छिटो उपचार सेवा उपलब्ध भए पनि ग्रामीण र गरिब नागरिक उपचारबाट वञ्चित भइरहेका बताइन्।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका अनुमान गरिएको छ। कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले मानसिक स्वास्थ्य नदेखिने महामारीका रूपमा देखापरेको बताइन्। उनले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यानजस्ता रोकथामका उपायलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पुर्याइरहेको जानकारी दिइन्।
डब्ल्यूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक मनिता प्याकुरेलले नसर्ने रोग रोकथाम गरी नागरिकलाई स्वास्थ्यसुरक्षा प्रदान गर्न सरकारले प्रभावकारी संयन्त्र बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
नसर्ने रोगको प्रभावकारी रोकथाम गर्न सचेतना आवश्यक पर्ने नसर्ने रोग (एनसीडी) एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाको भनाइ छ। कार्यक्रममा भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यान्मार, मलेसिया, जेनेभालगायत ११ देशका नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद् सहभागी छन्।