३ माघ २०८२
अ+
अ-

काठमाडौँ। सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार-२०८२’ र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरेको छ।

वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज (शनिबार) शिवपुरी गाउँपालिका ७‚ सुइरेचौर नुवाकोटमा आयोजित समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट पुरस्कार तथा सम्मान प्रदान गरियो।

कार्यक्रममा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार-२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख जगत नेपाललाई प्रदान गरिएको छ। पुरस्कारको राशि २५ हजार एक रुपैयाँ र सम्मानपत्र छ।

यस्तै ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल तथा ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ। हमाललाई वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा पत्रकारितामार्फत गरेको योगदान र मानन्धरलाई नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। पुरस्कारको राशि जनही १५ हजार एक रुपैयाँ र सम्मानपत्र छ।

कार्यक्रममा पूर्वराष्ट्रपति यादवबाट वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई ‘सम्पादक समाज नेपाल सम्मान’ प्रदान गरियो।

समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको समारोहमा पूर्वराष्ट्रपति यावदले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भूमिका अझै बढेर गएको बताए। उनले वियोगीले लोकतन्त्र स्थापनामा पत्रकारितामार्फत खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गरे।

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले सम्पादक समाज नेपालसँग जोडिएपछि शिवपुरी क्षेत्रमा पर्यटकको आवागमन बढेको भन्दै खुसी व्यक्त गरे। -रासस