काठमाडौँ। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक काफ्लेले राजीनामा बुझाएको जानकारी दिए। उनको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता बुढाथोकीको भनाइ छ।
“आवश्यक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रिपरिषद्मा पेस गर्छौं‚” उनले भने। काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले बोर्डमा नियुक्त भएका थिए। स्वास्थ्य बिमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो।
ठुला सरकारी अस्पतालहरूले सूचना निकालेर स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन्। कतिपय बन्द गर्ने तयारीमा छन्।
बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ। तर अर्थ मन्त्रालयले यही मोडलमा बिमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ।