काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

७ माघ २०८२
अ+
अ-

सिमकोट। हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन् । विगतका वर्षहरुमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो ।  यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो ।

लामो समयसम्म हिमपात नहुँदा खडेरी हुने होकी भन्ने चिन्तामा यहाँका किसान छन् । माघ महिनाको पहिलो सातासम्म हिमपात नहुँदा यहाँका किसान चिन्तामा परेका छन् । यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहित अग्ला स्थानहरु सेताम्ये देखिन्थे भने किसान खुसी हुन्थे । तर यो वर्ष जिल्लामा गएको असोज महिनाको अन्तिममा एक पटक मात्रै हिमपात भएको छ । त्यसले खासै किसानका लागि खुसी भने गराएको छैन ।

हिउँद याममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन । चार, पाँच दिनसम्म आकाशमा बादल मडारिने गरे पनि हिमपात हुन नसकेको हो । मङ्सिर पुस र माघ महिनामा अत्यधिक हिमपात हुने भए पनि यो वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात हुन सकिरहेको छैन । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठ लाग्दो देखिएको छ ।

सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामाले भने, “यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवतीहरु रमाउने गर्थे तर यो वर्ष त्यसो हुन् सकेन । पुस महिना सकिएर माघको आज ६ गते भइसक्यो ।” बढी हिमपात हुने महिना पुस र माघ हो तर हिउँ परेन अब फाल्गुनमा के हुने हो थाहा नभएको लामाको भनाई थियो ।

यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् । जेठासीबालीमा खडेरी हुने चिन्तामा रहेको सिमकोट गाउँपालिका–२ ठेहेका गौगोरा बोहराले गुनासो गरे । किसान बोहराले भने, “जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ ।” विगतका वर्षहरुमा कात्तिक महिनादेखि फागुन महिनासम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो ।” यो वर्ष हिमपात हुन सिकरहेको छैन । हिमपात नभएर यहाँको जमिन, सुक्खा देखिँदै गएका छन्भने हिउँदको समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुनथालेका छन् । हिउँले सेताम्य देखिने यो समय हुम्लाका विभिन्न हिमाल सुक्खा देखिएका छन् । पुस महिनामा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमालहरू सुक्खा देखिएका छन् । हिमपात नहुँदा यी हिमालहरु हिउँको पर्खाइमा छन् ।

जलवायु परिवर्तनमा आएको असर हुम्लामा समेत परेको छ । जिल्लाको मौसममा कहिले आकाशमा बादल देखिए पनि हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताए । उनले भने, “हुम्लामा दुई–तीन वर्ष यतादेखि दश वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छोडेको छ ।” यो पुस महिनाको समय सिमकोट, खार्पुना, नाम्खा, सर्केगाड र चङ्खेली गाउँपालिकाका उच्च स्थान हिउँले ढाकेर सेताम्ये देखिन्थे तर केही वर्षयता देखिन सकेका छैनन् । यो समयको हिउँदयाममा भारी हिमपात भएर किसान उत्हासीत हुनुका साथै पुसको हिउँ सिला, माघ हिउँ विला, फागुनको हिउँ टिलाफिा भनेर किसान उख्खान समेत भन्ने गर्थे । पुस हिउँ सिला, माघ हिउँ बिला भन्ने स्थानीयको उखानजस्तै माघमा परेको हिउँ बिलाउँदै जाने गर्छ । पुसमा परेको हिउँ जमेर बस्छ भने फागुनमा परेको हिउँ टिलाफिला भएर जान्छ । हिउँ नपर्दा गाउँघरमा बूढापाखाले यो कलियुग आएको भन्ने गरेको रोकायाले बताए । जिल्लामा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्न समस्या बनाउँथ्यो भने अत्यधिक चिसोले जनजीवन कष्टकर बनाउँथ्यो यहाँका नागरिकले हिउँमा रमाउँथे रोकायाले भने ।

यो पटक मङ्सिर र पुस दुई महिना हिमपात नभएर बित्दा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तित बनेका छन् । गर्त वर्ष ढिलो गरी हिमपात र वर्षा भएकाले यो वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् ।

जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खानेमा कृषक चिन्तित रहेको सर्केगाड गाउँपालिका–६ बराई गाउँका मानबहादुर ऐडीले बताए । आवश्यक पर्ने हिउँ र वर्षा नभएपछि खेतमा लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएको ऐडीले बताए । खेतमा जौ र उवा लगाए पनि हिउँ नपर्दा खेतमा लगाएको बाली खेर जानेमा डर भएको छ । ऐडीले भने, “हुम्लामा दश वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । मङ्सिर महिनामा दुई पटक पातलो हिउँ पर्यो, केही समयमै बिलायो ।” पछिल्लो जिल्लामा समय हिउँ परे पनि फासफुस मात्र पर्छ, जमिन बेस्सरी भिजाउने गरेर हिउँ नपरेको उनको भनाइ थियो । दर्के झरी पनि पर्न छोडेको ऐडीले बताए ।” पुसमा जति बाक्लो हिउँ पर्यो, हिउँदे बाली उति राम्रो हुन्थ्यो तर यो वर्ष परेको छैन । हिउँदमा हिउँ बेस्सरी परेर बाली राम्रो भएको वर्ष जेठासीको उत्पादनले चार, पाँच महिना मुस्किलले खान पुग्ने गरेको उनको भनाइ छ । हिउँदको महिना हिउँ नपर्दा जेठासी बालीका लागि खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा खडेरीको समस्या निम्तिएको हो ।

स्थानीयहरूमा चिसो बढेको भन्दा पनि हिमपात नभएको कारण खेतमा लगाइएको हिउँदे बाली जेठमा पाक्ने उवा, गहुँ र जौ सुक्ने भन्दै चिन्तामा छन् भने चैत, वैशाखमा लगाइने कात्तिकमा पाक्ने वर्षे बालीलाई समस्या पर्ने हो की भन्ने चिन्ताले बढीले सताउन थालेको छ ।

हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका साविकका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात नहुँदा कृषक चिन्तित बनेका छन् ।