काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

क्रिकेट

फेरि पनि ब्याटिङकै चुनौती

७ माघ २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तान इन्दु बर्मा। तस्बिर : क्यान
अ+
अ-

कप्तान इन्दु बर्माको ३९ रन अनि उपकप्तान पूजा महतोको अविजित ६२ रनको इनिङ्स। इन्दुका लागि यो इनिङ्स सामान्य रहे पनि पूजाका लागि भने महत्त्वपूर्ण थियो।

५ फेब्रुअरी २०२५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा भएको नेपाल, थाइल्यान्ड र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय शृंखलाअन्तर्गत अन्तिम खेलमा २० वर्षे पूजाले आफ्नो करिअरको दोस्रो अर्धशतकसँगै नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक जित दिलाउने अवसर बनाएकी थिइन्। तर, बलिङ नचल्दा नेदरल्यान्ड्सले १० विकेटले त्यो एउटा खेल मात्र जितेन, शृंखलामा नेपालविरुद्धका तीन वटै खेल जित्यो।

पूजा रुन मात्र सकिनन्। उनले आफू र आफ्नो टोलीप्रति खुलेरै आक्रोश पनि पोखिन्। “अलिकति हामीलाई लाज पनि हुनुपर्ने हो। हारिरहँदा पनि यत्रो घरेलु समर्थक खेल हेर्न आउनुहुन्छ। तर, एक विकेट पनि लिन सकेनौँ,” खेल सकिएलगत्तै उनले भनेकी थिइन्।

पूजा महतो। तस्बिर : क्यान

त्यसको ठ्याक्कै ३५१ दिनपछि नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा सोही मैदानमा नेदरल्यान्ड्सविरुद्ध नै उत्रिँदै छ।

टी-२० आईको यो चौथो भेटअघि नेदरल्यान्ड्स पुरानै सानदार लयमा छ। तर, घरेलु टोली नेपाल थाइल्यान्डविरुद्धको पहिलो खेलसँगै सदाझैँ लरखरिएको अवस्थामा छ।

उस्तै लयमा नेदरल्यान्ड्स

नेपाल र नेदरल्यान्ड्स महिला टोलीबीच अघिल्लो वर्ष कीर्तिपुरमा तीन वटा खेल भएका थिए। तीनै खेलमा नेपालले हार बेहोर्‍यो।

३० जनवरीमा भएको पहिलो खेलमा नेपाल २० रनले हार्‍यो भने २ फेब्रुअरीमा १५ रनले। दुवै खेल प्रतिस्पर्धात्मक नै रहे। तर, ५ फेब्रुअरीमा भएको तेस्रो तथा अन्तिम खेलमा भने नेदरल्यान्ड्सले १० विकेटको सहज जित निकाल्दै शृंखला नै आफ्नो पक्षमा पार्‍यो।

यी नतिजालाई सतहमा हेर्दा नेदरल्यान्ड्सको स्पष्ट वर्चस्व देखिन्छ। तर, प्रत्येक खेललाई फर्किएर नियाल्ने हो भने नेपाल पूर्ण रूपमा खेलबाट बाहिरिएको अवस्था भने थिएन। पहिलो खेलमा फिनिसिङमा चुकेको नेपालले त्यसपछिका खेलमा बलिङ र ब्याटिङले नेदरल्यान्ड्सलाई दबाबमा राखेको थियो। दोस्रो खेलमा स्पिनर सीता रानामगरले तीन ओभरमा १२ रन खर्चिंदै पाँच विकेट लिएर करिअरकै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। मनीषा उपाध्यायले पनि दुई विकेट लिइन्। तर, १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो।

तेस्रो तथा अन्तिम खेलमा इन्दु र पूजाले ब्याटिङ सम्हाले पनि बलिङ चल्न सकेन। पूजाकै कुरालाई आधार मान्ने हो भने पनि नेपालले यसरी लगातार खेल गुमाउनुको अर्को कारण खराब फिल्डिङ पनि थियो । पटक पटक ‘क्याच मिस’ गर्नुले पनि नेपालले जित्ने सम्भावना टरेको थियो।

नेदरल्यान्ड्ससँगको यसपटकको भेट धेरै अर्थमा फरक छ। कीर्तिपुरमा भएको उक्त शृंखलालाई नेपालले प्रयोग गर्ने, सिक्ने र संयोजन मिलाउने अवसरका रूपमा लिएको थियो। त्यसयता १९ खेल खेलिसकेको नेपालले आठमा जित र सातमा हार बेहोरेको छ। तर, विश्वकप छनोट ‘प्रयोग’ गर्ने ठाउँ होइन। यहाँ हरेक निर्णय नतिजासँग प्रत्यक्ष जोडिएको हुन्छ।

यहाँ एउटै जितले टोलीलाई नयाँ उचाइमा अनि हारले प्रतियोगिता नै गुमाउनुपर्ने अवस्था बन्न सक्छ। समूह ‘बी’ मा नेदरल्यान्ड्स दुई जितसहित सुपर सिक्सको बाटोमा अगाडि बढिरहँदा नेपाल भने पहिलो जितकै खोजीमा छ।

अपरिहार्य ब्याटिङ सुधार

पछिल्ला खेलमा नेपालको मुख्य कमजोरी ब्याटिङ नै हो, विशेषगरी शीर्षक्रमले सुरुआतलाई ठूलो स्कोरमा लैजान नसक्नु। तर, थाइल्यान्डसँगको पहिलो खेल तथा त्यसअघिका वार्मअप र अभ्यास खेलमा बिन्दु रावल र सम्झना खड्काले केही सुधारिएको छनक दिइरहेका छन्।

त्रिदेशीय शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेका पूजा महतो र इन्दु बर्मा। तस्बिर : क्यान

थाइल्यान्डविरुद्धको खेलमा पनि यी दुईले पहिलो पावरप्लेअगाडि गरेको प्रदर्शनले कप्तान इन्दुको मात्र होइन, विपक्षी कप्तान नारुमोल चाइवाईको मनसमेत जित्न सफल भयो।

यी दुई ब्याटरले ५२ रनको साझेदारी गरे। तर, बिन्दु ४४ र सम्झना २६ रनमा आउट भएपछि नेपालको ब्याटिङ धराशायी बन्यो। “पोहोरभन्दा नेपालले सुधारिएको ब्याटिङ देखायो। ओपनरले राम्रो सुरुआत गरे। तर, मध्यक्रमले राम्रो गर्न सकेन। त्यसैले हाम्रो जित भयो,” चाइवाईले भनिन्।

गत वर्ष मार्चमा बैंककमा भएको एसिया छनोटको अन्तिम खेलमा नेपाललाई ८० रनमै सीमित गर्दै थाइल्यान्डले उपाधि हात पारेको थियो। यसपल्ट पनि थाइल्यान्डले आफ्नो स्तरीय प्रदर्शनलाई निरन्तरता दिँदै आठ विकेटको फराकिलो जित हात पार्‍यो।

चाइवाईले भनेजस्तै ओपनिङमा सुधारिएको प्रदर्शन गरे पनि नेपालको मध्यक्रम चलेन। तेस्रो नम्बरमा आएकी उपकप्तान पूजा महतो १२ र कप्तान इन्दु आफैँ ६ रनमा पेभेलियन फर्किए। मध्यक्रममा भरपर्दो मानिएका कविता जोशीले तीन र कविता कुँवरले दुई रन मात्र बनाउन सके। छैटौँ नम्बरकी रुबिना क्षेत्री बेलबासे पनि १७ रन बनाएर ‘स्टम्पिङ’ हुन पुगिन्।

तर, बिहीबार हुने नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाललाई यसअघि झैँ गल्ती गर्ने छुट छैन। कीर्तिपुरको ‘फ्लाट पिच’ मा यस टोलीले सरदरमा १५५ रनसम्म बनाएको तथ्यांक छ। त्यसैले सुरुआतदेखि नै ब्याटिङमा धैर्य र जिम्मेवारी देखाउनुपर्ने हुन्छ। पावरप्लेमा अनावश्यक जोखिम नलिई विकेट जोगाउँदै रनको गति कायम गर्नुपर्नेछ।

इन्दुले विशेषगरी अनुभवी खेलाडीहरूबाट इनिङ्स सम्हालिने अपेक्षा गरेकी छन्। “म, पूजा र रुबिना दिदीले मिडिल अर्डरमा अझै जिम्मेवार भएर खेल्नुपर्छ,” इन्दु भन्छिन्।

बलिङमा नेपालको आशा

नेपालको बलियो पक्ष भनेकै बलिङ हो। अझ कीर्तिपुरको मैदान स्पिनअनुकूल मानिन्छ। त्यसैले नेपाल दुई पेसर मात्र लिएर मैदान उत्रिइरहेको छ। यस पिचमा नेपाल प्रिमियर लिग (एनपीएल)मा लेग स्पिनर सन्दीप लामिछाने र राइटआर्म अफब्रेक शेर मल्लले समान १७ विकेट लिएका थिए।

नेदरल्यान्ड्सविरुद्धको खेलमा विकेट लिएपछि खुसी मनाइरहेका नेपाली खेलाडी। तस्बिर : क्यान

यस पिचमा अनुशासित लाइन-लेन्थ र पावरप्लेमा विकेट निकाल्न सके खेललाई नियन्त्रणमा राख्न सकिन्छ। नेदरल्यान्ड्सजस्तो टोलीविरुद्ध सुरुआती विकेट झार्न सके खेलको गति बदल्न सकिन्छ।

पहिलो खेलमा जिम्बाबेले यही पिचमा नेदरल्यान्ड्सलाई १९ ओभरमा सबै विकेट लिँदै १२२ रनमै समेटेको थियो। तर, ब्याटिङमा चुक्दा १०८ रनभन्दा अगाडि बढ्न सकेन। यही पिचमा स्कटल्यान्डले बलिङमा लगाम लगाउन नसक्दा नेदरल्यान्ड्सले सात विकेट गुमाउँदै १५८ रनको विशाल लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको स्कटल्यान्ड सात रनले नै निराश हुन पुग्यो।

तर, नेपाललाई यो पिच निकै फलदायी बन्न सक्छ। गत वर्षको दोस्रो भेटमा सीताले पाँच र मनीषाले दुई, कविता जोशी र इन्दु बर्माले समान एक विकेट लिँदै नेदरल्यान्ड्सलाई १४० रनमै रोकेका थिए। यी सबै स्पिनर हुन्। तर, नेपाल १२५ रनमै रोकियो।

नेपालको बलिङ पहिलेजस्तै धारिलो भने छैन। पहिलो खेलमा थाइल्यान्डविरुद्ध नेपाल १२२ रनभन्दा माथि जान सकेको थिएन। बलिङमा पनि सीताले दुई विकेट लिए पनि अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। तर, टोलीले तीन दिनको विश्राम पाएको हुँदा बलिङ सुधार्ने अपेक्षा इन्दुले गरेकी छन्।

नेपालविरुद्धको लगातार तीन र प्रतियोगिताको दुई जितले नेदरल्यान्ड्स आत्मविश्वासका साथ मैदान उत्रिनेछ। अझ टोलीकी ओपनर फेबे मोल्केनबोअर र मध्यक्रमकी स्टेरे कालिस सानदार लयमा छन्। जिम्बाबेविरुद्ध फेबेले २७ र कालिसले २६ रन बनाएका थिए। स्कटल्यान्डविरुद्ध फेबे नचले पनि कालिसले अविजित ८७ रनको इनिङ्स खेल्दै नेदरल्यान्ड्सलाई जिततर्फ डोर्‍याइन्। नेपालले यी दुईलाई रोक्दै खेल आफ्नो पक्षमा पार्न र प्रतियोगितामा उपस्थिति जनाइराख्न पनि बलिङ सपार्नुको विकल्प छैन।