काठमाडौं। शनिबार पेरिसका सडकमा हजारौं नागरिकले प्रदर्शन गर्दै राष्ट्रपति इमानुएल माक्रोनको राजीनामा र फ्रान्सलाई युरोपियन युनियन (ईयू) बाट बाहिरिनुपर्ने माग गरेका छन्।
माक्रोनको समर्थन दर २०१७ पछि सबैभन्दा न्यूनतम स्तरमा पुगेको छ। एक सर्वेक्षणअनुसार ८०% फ्रान्सेली जनताले उनलाई विश्वास नगर्ने बताएका छन्।
दुई वर्षभन्दा कम अबधिमा फ्रान्सको पाँचौं प्रधानमन्त्री बनेका प्रधानमन्त्री फ्राँस्वा बैरु सोमबार संसद्मा विश्वासको मत सामना गर्दैछन्।
फ्रान्समा सरकारको बजेट घाटा अहिले ईयूले तोकेको सीमा भन्दा लगभग दोब्बर जीडीपीको ५.८% पुगेको छ—। बैरुको बजेट योजनामा रोजगारी कटौती, सामाजिक सुरक्षा कार्यक्रम र पेन्सनमा खर्च घटाउने प्रस्ताव गरिएको छ, जसलाई विपक्षले सैनिक खर्चलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन।
ऱ्याली फ्लोरियन फिलिपो र उनको दल द पाट्रियट्स ले आयोजना गरेका हुन्। पार्टीले युक्रेनलाई हतियार आपूर्ति रोक्नुपर्ने र रुससँग तनाव चर्कन नदिन चेतावनी दिँदै आएको छ। यसैबीच वामपन्थी समूह र श्रमिक संघहरूले बुधबार देशव्यापी हड्ताल गर्ने तयारी गरेका छन्।