काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्था, आचारसंहिता पालनालगायत विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।
२१ फागुनमा हुने निर्वाचनलाई स्वच्छ‚ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता उल्लंघनलगायत अवाञ्छित गतिविधि निस्तेज गर्ने विषयमा छलफलकेन्द्रित भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलका क्रममा आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलक्षित शान्ति सुरक्षा व्यवस्थापन, आचारसंहिता परिपालना सम्बन्धमा गर्नुपर्ने अनुगमनलगायत विषयमा चासो राखेका थिए।
निर्वाचन आचारसंहिता पालनामा गृहको कडाइ‚ ७७ जिल्लामै ‘सर्कुलर’
जवाफमा गृहमन्त्री अर्यालले निर्वाचनका लागि सुदृढ शान्ति व्यवस्था मिलाइएको र दण्डहीनता सह्य नहुने बताएका थिए। उनले आचारसंहिता परिपालनाको अनुगमनमा मन्त्रालयअन्तर्गतका निकायहरूलाई पूर्ण परिचालन गर्ने प्रतिबद्धता पनि जनाए।
छलफलमा गृह मन्त्रालयका तर्फबाट मन्त्री अर्यालसँगै गृहसचिव, मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलगायत पदाधिकारीको उपस्थिति थियो। आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, आयोगका सचिवलगायत पदाधिकारीको सहभागिता थियो।