काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सहिद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत फेरी कसैले सहिद बन्नु नपरोस् भन्ने सन्देश दिएका छन्।
उनले ८५ वर्षअघि राणा शासनविरुद्ध संघर्ष गर्दै क्रूर हत्याको सिकार भएका सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झना गर्दै सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाहले लेखेका छन्, ‘राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ। त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन। यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्यो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन। पटक–पटक नेपाली जनता सहिद भए तर सहिदका सपना पूरा हुन सकेनन्।’
उनले गत भदौको जेनजी आन्दोलनलाई पनि जोड्दै भनेका छन्, ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो। अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ।’
शाहले भ्रष्टाचार अन्त्य, सुशासन कायम, राज्यका निकायमा दलीयकरण रोक्ने र जबाफदेही/पारदर्शी राज्य बनाउने दायित्व आफूहरूमा रहेको कुरा पनि स्पष्ट पारेका छन्। उनले थपेका छन्, ‘यी सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन। अब समय आएको छ–सहिदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने। सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने। यस पटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो। फेरी कसैले सहिद बन्नु नपरोस्!’