काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
अ+
अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ।

कामपा सार्वजनिक निर्माण विभागका सबइन्जिनियर दीपकबहादुर शाहीले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने जानकारी दिए। उनका अनुसार यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपैयाँ रहेको छ।

कल्भर्ट निर्माणको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ। यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ। ‘अहिले त्यहाँ पानी निकासका लागि ह्युमपाइप राखिएको छ। यसरी राखिएका ह्युमपाइप पुराना भइसकेका छन्’, सबइन्जिनियर शाही भन्छन्, ‘बर्खाको समयमा पानीका बहाव रोकिने अवस्था भएको छ। बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो।’

कल्भर्ट निर्माणको प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ। डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीले बताए। यसका लागि दुवैतर्फबाट आउने सवारीसाधन कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ।

यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ। यसको सम्झौता रकम दुई करोड २१ लाख २३ हजार ८९९ रुपैयाँ रहेको छ। यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ। यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ सात मिटरको हुनेछ।

यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति गरेको थियो। वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार भन्छन्, ‘पुल बनाउने भनेर विभिन्न निकाय आए, कसैले बनाउँछु भन्यो भने नबनाउनु किन भन्नु भनेर हुन्छ भन्यौँ, तर कसैले बनाएनन्। त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो, महानगरपालिकाको केन्द्रीय बजेटबाट निर्माण हुन लागेको हो।’