बरहथवा। छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–४ रहुवामा उखुको लोडले च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मप्र०३–००१त ७९०५ नम्बरको ट्रयाक्टर चालक रौतहटको राजदेवी नगरपालिका–६ मोहनपुरका ३० वर्षीय राजु पटेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राई जानकारी दिए।
हुलाकी सडकखण्डअन्तर्गत गडहियाबाट बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लिएर जाँदै गरेका पटेलले चलाएको ट्रयाक्टरमा एक्कासी ब्रेक लगाउँदा उखुको भारी चिप्लिएर पटेललाई थिचेको थियो । तत्काल उद्धार गरी प्रादेशिक अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी प्रवक्ता राईले जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सर्लाहीको चन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा भारतीय बिआर३०एपी ३०३७ नम्बरको मोटरसाइकलले चन्द्रनगर–२ बरकुर्वाकी ६५ वर्षीया शान्तिदेवी ठाकुरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता राईले जानकारी दिए ।
घाइते ठाकुरको अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । न्यूरो अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी र चालक चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाका २० वर्षीय विशाल महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।