काठमाडौं। सरकारले सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्धलाई प्रभावकारी बनाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न नागरिकहरूलाई आग्रह गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएन प्रयोगबाट टाढा रहन अनुरोध गरेको हो।
‘नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भैसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त भिपिएन प्रयोग नगर्न, नगराउनसमेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै यसबीचमा हाम्रो पात्रो र ग्लोबल डायरीले सूची दर्ता गरेको र दर्ता भएपछि नेपालमा सञ्चालनसमेत भइरहेको मन्त्रालयले जनाएको छ। प्रवक्ता ठाकुरका अनुसार अमेरिकी कम्पनी एक्स र चिनियाँ कम्पनी वीच्याटले सूचीका लागि कागजात मगाएपछि आवश्यक विवरण पठाइएको छ।
