कैलाली । धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई ओहोरदोहोर गर्न सहज भएको छ।
दुवै स्थानलाई छुट्याउने मोहना नदी पार गर्न लामो दूरीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ। राजघाटका बासिन्दाले सदरमुकामभन्दा नजिक पर्ने धनगढी बजारमै दैनिक काम गर्ने भएकाले पुल अति आवश्यक रहेको स्थानीयले बताए।
“औषधि उपचारदेखि हरेक कामका लागि धनगढी जानुपर्ने हुन्छ, पुल बन्नुभन्दा अघि मजगई हुँदै लामो र कष्टपूर्ण बाटो हिँड्नुपर्थ्यो,” कृष्णपुर–९ राजघाटकी पूर्ववडासदस्य शारदादेवी चौधरीले भनिन्।
घरायसी सामान किनमेलदेखि दैनिक आवतजावतमा सहज भएको स्थानीय पदम विकले बताए। वर्खामा नदी बढ्दा ठूलो समस्या हुने गरेको स्थानीय रेखा चौधरीले स्मरण गराइन्।
कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा रु ८० लाख ९० हजारमा पुल निर्माणको ठेक्का लगाएको इञ्जिनियर विष्णु जोशीले जानकारी दिए। उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा उक्त पुल बनेको हो।