काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। गायक प्रकाश सपुतले सोमबार काठमाडौँमा हुने जेन–जी पुस्ताको प्रदर्शनलाई आर्थिक सहयोग र नैतिक समर्थन गरेका छन्।

सपुतले आफ्नो फेसबुक पोस्टमार्फत दुई भाइ सुनिल र सचिनलाई २५/२५ हजार रुपैयाँ पठाएको जानकारी दिएका छन्। उनले युवाहरूलाई आन्दोलनमा सहभागी हुँदा पानी पिउन, संयमित रहन र एकै पटकमा नथाक्न सुझाव दिएका छन्। साथै, उनले आन्दोलनमा सहभागीहरूले “आफ्नै नेतृत्वमा उभिन र एकसाथ रहन” आग्रह गरेका छन्।

सपुतले जेन–जी पुस्ताको नयाँ शैलीको आन्दोलनप्रति उत्साह व्यक्त गर्दै, यसले नेताहरूलाई “समय धेरै अगाडि गइसकेको” र देशलाई कति पछाडि पारेको छ भन्ने महसुस गराउने विश्वास व्यक्त गरेका छन्। उनी युवाहरूलाई सुरक्षित रूपमा घर फर्किन पनि सुझाव दिएका छन्।

यस्तै, गायक तथा कलाकार दुर्गेश थापाले पनि फेसबुक मार्फत प्रदर्शनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन्। उनले ‘जेन–जी’लाई केवल नाम नभई देशमा परिवर्तनको ब्रान्डको रूपमा प्रस्तुत गर्दै, युवाहरूको कदमलाई सकारात्मक ऊर्जाका साथ समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

र नेपाली अभिनेत्री प्रियंका कार्कीले पनि जेन–जी प्रदर्शनलाई समर्थन गर्दै, युवा पुस्ताको आन्दोलनको प्रशंसा गरेकी छन्। उनले सरकारसँग भ्रष्टाचारमुक्त, समान अवसर सुनिश्चित गर्ने माग राख्दै आन्दोलनलाई नैतिक र शान्तिपूर्ण तरीकाले अगाडि बढाउन आग्रह गरेकी छन्।

अभिनेत्री प्रियंकाले आन्दोलन व्यक्तिगत नेतृत्वबाट भइरहेकोले अराजक तत्व प्रवेश गर्न सक्ने सम्भावनाप्रति सचेत गराएकी छन् र सहभागीहरूलाई धैर्य र संयमका साथ अगाडि बढ्न प्रेरित गरेकी छन्।

यसअघि जेन–जी युवा पुस्ताले देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आन्दोलनको घोषणा गरेका थिए।