लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पारेका छन्।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत व्यवस्था निर्माण गरिएको जानकारी दिएका छन्।
प्रदेश स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले निर्माण गरेका कानुनी तथा नीतिगत संरचनाले प्रदेश सरकारको कार्यान्वयन क्षमता बलियो बनेको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा सङ्घीयताको सवलीकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट भएको बताएका छन्। उनले सङ्घीयताको सफलताको अभ्यासको सन्देश देशभर दिन लुम्बिनी प्रदेश सफल भएको पनि बताएका छन्।
उनका अनुसार सङ्घीयताको औचित्य व्यवहारमा देखिनेगरी नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषिलगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको छ।
मुख्यमन्त्री आचार्यले संविधानको पूर्ण पालना र संरक्षणका विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। सङ्घीय संरचनाको सम्मान, अधिकारको व्यावहारिक कार्यान्वयन र स्रोतसाधनको सुनिश्चितताका लागि लुम्बिनी प्रदेश सधैँ स्पष्ट र दृढ रहेको उनको भनाइ छ।
प्रदेश सरकार स्थापना भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारको अन्त्यलाई कार्यसम्पादनको मूल आधार बनाइएको मुख्यमन्त्रीको भनाइ छ । सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रियामा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व बलियो बनाउने काम भइरहेको उनले बताए।
मुख्यमन्त्री आचार्यले राजनीतिक रूपमा प्राप्त सङ्घीयतालाई प्रशासनिक र वित्तीय सङ्घीयताका रूपमा पनि संस्थागत गर्न अपरिहार्य भइसकेको उल्लेख गरे । सङ्घीयताको सवलीकरण र औचित्य व्यवहारमा उतार्दै प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार अझ दृढताका साथ अघि बढ्ने उनको प्रतिबद्धता छ।