काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध, नातावाद र बढ्दो भ्रष्टाचारविरुद्ध जेन जेड पुस्ताले सोमबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्।

बिहान ११ बजेदेखि सुरु हुने यो शान्तिपूर्ण मार्चलाई स्थानीय प्रशासनले समेत अनुमति दिएको छ।  युवाहरू ‘हामी कानुन बुझ्छौं, त्यसको पालना गर्छौं’ भन्ने नाराका साथ न्याय, पारदर्शिता र सुशासनको माग गर्दै सडकमा उत्रिन लागेका हुन्। 

कार्यक्रमअनुसार, सोमबार बिहान ९ बजे माइतीघरमा भेला भई ११ बजे मार्चपास गर्दै बानेश्वरसम्म प्रदर्शन गर्ने तयारी गरिएको छ।

विज्ञप्ति जारी गर्दै उनीहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने स्पष्ट पारेका छन्। विज्ञप्तिमा भ्रष्टलाई जवाफदेही बनाउने, सरकारलाई पारदर्शी बनाउन र प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त गर्नुपर्ने माग राखिएको छ। उनीहरूको विश्वास छ- यसरी मात्र न्याय, शान्ति र विकास सम्भव हुन्छ।

हाल टिकटक, फेसबुक र इन्स्टाग्राममा चर्चामा रहेको ‘नेपो बेबी ट्रेन्ड’ले नेताका छोराछोरीको विलासी जीवनशैली सार्वजनिक भएपछि जनआक्रोश बढेको हो। यही डिजिटल विरोध नै सडक प्रदर्शनमा परिणत भएको हो।

सामाजिक सञ्जाल बन्द भए पनि आन्दोलनको घोषणाले युवामात्र होइन, पुराना पुस्ताबाट पनि समर्थन पाएको छ। कतिपयले जेन जेडको विद्रोहलाई सकारात्मक रूपमा लिँदै सहकार्य गर्ने बताएका छन्।

सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवालाई जेन जेड भनिन्छ। उनीहरूले केही दिनदेखि सामाजिक सञ्जालमार्फत आन्दोलनको आह्वान गर्दै आएका थिए।