काठमाडौँ। रुसले युक्रेनमाथि युद्ध सुरु भएपछिको सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। युक्रेनी वायुसेनाका अनुसार रुसले ८१० ड्रोन, चारवटा ब्यालिस्टिक मिसाइल र नौवटा क्रुज मिसाइल प्रहार गरेको थियो।
पहिलोपटक राजधानी कीभस्थित एउटा सरकारी भवन समेत निशाना बनेको छ। कीभ ११ घण्टासम्म निरन्तर हवाई आक्रमणको साइरनमा थियो।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै आइतबार देशभरमा चार जनाको मृत्यु र ४४ जना घाइते भएको जनाए।
युक्रेनी वायुसेनाका अनुसार अधिकांश ड्रोन र मिसाइलहरू खसालिए पनि ५४ ड्रोन र नौ मिसाइल विभिन्न स्थानमा ठोक्किन पुगेका थिए। यसअघि सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएपछिको सबैभन्दा ठूलो मानिएको गत जुलाईको आक्रमणभन्दा पनि यो ठूलो आक्रमण हो।
यो आक्रमण पश्चिमी मुलुकहरूबीच शान्ति सम्झौताको पहल सुस्ताइरहेको समयमा भएको हो। एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले गत महिनाको अलास्का शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “भ्लादिमिर पुटिनलाई चाहिएको कुरा दिएरै” बैठक टुंग्याएको आरोप लगाए । उक्त बैठकमा कुनै ठोस सम्झौता भएको थिएन।
यसैबीच ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनसँग “धेरै चाँडै” वार्ता गर्ने बताएका छन्। उनले रूस–युक्रेन युद्धप्रति असन्तोष व्यक्त गर्दै शान्ति प्रक्रिया अघि बढाउन चाहेको पनि बताएका छन्।