काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी डिंक्सबीच भएको दुईवर्षे सम्झौताअनुसार एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नयाँ जर्सी बुधबार सार्वजनिक गरिएको हो।
कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी र क्यान पदाधिकारीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहता र क्यानका सचिव पारस खड्काले नयाँ जर्सी सार्वजनिक गरे।

एक्सट्रिम इनर्जी ड्रिङ्क्सले विज्ञप्तिमार्फत नेपाली महिला क्रिकेटका लागि सहकार्य गर्ने जानकारी गराएको छ। “जर्सी प्रायोजनमार्फत खेलाडीलाई प्रोत्साहन हुने आत्मविश्वास बढ्ने र व्यावसायिक वातावरण बन्ने अपेक्षा छ‚” विज्ञप्तिमा उल्लेख छ।
सदस्य-सचिव मेहताले खेलकुदमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण योगदान पुगेको बताए। क्यानका सचिव पारस खड्काले नेपाली महिला क्रिकेटले केही समययता प्रभावशाली प्रदर्शनी गर्न थालेको बताउँदै यस्ता प्रायोजनले खेलाडीमा उत्साह बढ्ने बताए।

कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले भारतमा हुन गइरहेको पुरुष टी-ट्वेन्टी विश्वकपमा क्रिकेट हेर्न मुम्बई पुग्ने नेपाली दर्शकका लागि पनि दुई हजारथान जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ।
