धनगढी। बैतडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहतस्वरूप एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
सुदूरपश्चिम प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत स्वरूप एक/एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीका अनुसार दुर्घटनामा घाइते भएकाको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ।
बैतडीको पुर्चौडी नगरपालिका ७‚ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुप-प्र ०२-००१ ख १११९ नम्बरको बस बिहीबार साँझ दुर्घटना भएको थियो ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते छन्।