भेनेजुएला । भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति शाली दुईवटा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट घटनाको ३२ घण्टापछि एउटा नवजात शिशुलाई सकुशल उद्धार गरिएको छ।
सामाजिक सञ्जालमा शुक्रबार साझा गरिएको भिडियोमा उद्धारकर्ताहरूले भत्किएको भवनमाथि ‘फ्लडलाइट’ को उज्यालोमा काम गर्दै शिशुलाई बाहिर निकालेको देखिन्छ। राजधानी काराकासको उत्तरमा रहेको सबैभन्दा बढी प्रभावित शहर ला ग्वाइरामा शुक्रबार राति उद्धारकर्मी शिशुको उद्धार गर्न सफल भएपछि उपस्थित मानिसहरूले खुशी व्यक्त गरेका थिए।
भिडियोमा उद्धारकर्ताहरूले कम्बलले बेरेर शिशुलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सतर्कतापूर्वक हस्तान्तरण गरेका देखिन्छ। शिशुलाई निकालेपछि हल्का र नरम कागजले धुलैधुलो भएको बच्चालाई पुछेर सफा गरेको देखिन्छ।
भिडियो सार्वजनिक गर्ने युजर एन्ड्रेइना किन्टेरोका अनुसार शिशु मात्र १८ दिनको थियो र ३२ घण्टासम्म भग्नावशेषमा फसे पनि उसलाई कुनै चोट लागेको छैन। शिशुको आमालाई बच्चा उद्धार भएको एक घण्टापछि उद्धार गरिएको थियो।
शुक्रबारको अर्को फलोअप भिडियोमा किन्टेरोले आमालाई अस्पतालको बेडमा देखाउनुभएको छ भने एक स्वास्थ्यकर्मीले बच्चालाई कुनै चोट नलागेको बताए।
स्वास्थ्यकर्मीले आमाले आफ्नो शरीर वा अर्को कुनै वस्तुले बच्चालाई ढाकेर जोगाएको अनुमान गरेका छन्। बुधबार आएको ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पबाट कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् वा बेपत्ता छन्।