काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका हुन्। “देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ”, राष्ट्रपति पौडेलले भने, “राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपरिछ नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले विर्सन हुन्न।”

उनले हाम्रो राष्ट्रिय गानले व्यक्त गरेझैँ नेपाल सयौँ थुँगाका फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको उल्लेख गर्दै भने,“यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै जाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य हुन्छ। हाम्रो संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही हो।”

राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य–मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वासहरू केवल सांस्कृतिक सम्पदा मात्र नभएर ती नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू पनि भएको बताए। उनले यिनको संरक्षण, स‌ंवर्द्धन र समुचित विकासका लागि राज्यले नीतिगत, संस्थागत र संरचनागत रूपमा थप प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक ठानेको उल्लेख गरे।

“आदिवासी ज्ञान प्रणालीहरू केवल परम्परामा सीमित छैनन्। यी सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ पनि हुन्”, राष्ट्रपति पौडेलले भने, “नेपालका विभिन्न सूचीकृत आदिवासी जनजातिसँग सम्बन्धित परम्परागत ज्ञान, कृषि प्रणाली, कला, भाषा, विश्वदृष्टि तथा आध्यात्मिक अभ्याससम्म फैलिएको आदिवासी ज्ञान र बुद्धि एक जीवित राष्ट्रिय भण्डार हो, जसले हाम्रो समाजलाई सहअस्तित्व, सहिष्णुता र समृद्धितर्फ मार्गनिर्देशन गरिरहेको छ।”

सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक र नीतिगत बहसको मूलधारमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने राष्ट्रपति पौडेलले आशा व्यक्त गरे।