काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा विपक्षी दलका सांसद आफ्ना आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्ना धारणा सदनमा प्रस्तुत गर्न समय दिएका थिए।
कांग्रेसका रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा स्पष्ट पार्नुपर्ने विषयहरू पार्टीको महाधिवेशनमा प्रस्तुत हुनुले सदनको गरिमा घटाएको आरोप लगाइन्।
एमालेका पुष्पराज कँडेलले पनि प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड दिँदै सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पार्नुपर्ने बताए। उनले एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रही भएर पक्राउ गरेको आरोप लगाए।
नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयास परिलक्षित हुनुपर्नेमा जोड दिए।
उनले प्रदेशसभा खारेज गरी संघीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति विमति जनाए। श्रम संस्कृति पार्टीका आरेन राईले राष्ट्रियतासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्ट पार्नुपर्ने माग गरे।