काठमाडौँ। अभिनेता राजेश हमाल पछिल्लो समय सिनेमाभन्दा पुस्तक संवादमा व्यस्त छन्।
चितवनदेखि बिर्तामोडसम्म आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’को चर्चामा सहभागी उनले जापानका ६ सहरमा बुक-टुर गर्ने भएका छन्। एनआरएनए-जापानको आयोजनामा जापानका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म : सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने भएका हुन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास-जापान) को सह-आयोजना एवं फाइनप्रिन्ट बुक्सको पहल र नेपाल एयरलाइन्सको सहयोगमा हुन लागेको कार्यक्रम ११ फेब्रुअरीमा टोकियो, १४ फेब्रुअरीमा सिजुओका, १५ फेब्रुअरीमा नागोया, १७ फेब्रुअरीमा ओसाका, १ फेब्रुअरीमा फुकुओका र २ फेब्रुअरीमा ओकिनावामा हुनेछ।
जापानमा रहेका आफ्ना शुभचिन्तक एवं पाठकहरूसमक्ष पुग्ने अवसर पाउँदा आफूलाई खुसी लागेको हमालले बताए। “म आफ्नो पुस्तकसहित जापानमा रहनुभएका नेपाली पाठकलाई भेट्न पाउँदा उत्साही छु। केही महिनाअघि जापान पुग्दा उहाँहरूले मेरो पुस्तकबारे चासो प्रकट गर्नुभएको थियो। यसपालि म उहाँहरूसँग मेरो जीवन, विचार र साधनाबारे मुखरित हुनेछु,” उनले भने।
जापानमा रहेका नेपाली पाठक एवं अभिनेता हमालका शुभचिन्तकहरू समक्ष कार्यक्रम गर्न पाउँदा खुसी लागेको एनआरएनए-जापानका अध्यक्ष सुभास लामिछानेले बताए। फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत (सीईइओ) नीरज भारीले जापानमा नेपाली पुस्तकप्रेमीको संख्या ठुलो रहेको भन्दै यो बुक-टुरले लेखक, प्रकाशक र पाठकको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरे।
“जापानमा हाम्रा धेरै पाठक हुनुहुन्छ। नेपाली विद्यार्थीको संख्या बढेसँगै नेपाली पुस्तकको माग पनि बढेको छ। नेपालबाहिर फैलँदो पुस्तक बजारसँग जोडिने पहलस्वरूप यो कार्यक्रम आयोजना हुन गइरहेको हो,” सीईओ भारीले भने, “धेरैभन्दा धेरै पाठकसँग भेट्ने र त्यहाँसम्म नेपाली पुस्तक सजिलोसँग पुर्याउने संयन्त्र निर्माण गर्ने हाम्रो कोसिस रहनेछ।”
फाइनप्रिन्टले लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा राजेश हमालको जीवन कथा एवं सिनेमा र समाजबारे उनका विचारहरूको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशन गरेको हो।