झापा। झापामा पहिलोपटक आयोजित कोसी-पाथीभरा इन्डो-नेपाल टी-ट्वेन्टी च्याम्पियनसिपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ।
भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पसको मैदानमा आज (बिहीबार) भएको फाइनलमा भारतको राइनोल्यान्ड क्रिकेट क्लब असमलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो।
उपाधिसँगै भद्रपुरले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता असमले नगद तीन लाख रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए।
खेलको प्लेयर अफ दी म्याच भुवन कार्कीले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा बेस्ट फिल्डर भद्रपुरका भुवन कार्की, इमर्जिङ प्लेयर असमका निबिर डेका र बेस्ट ब्याटर लखनउका रमन कादयान भए। उनीहरूले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्लेयर अफ दी टुर्नामेन्ट गोकुल शर्मा भए। उनले ५१ हजार रुपैयाँ प्राप्त गरेको आयोजक क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए।
कोसी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष समेतलाई जोडेर यही २१ माघदेखि आयोजना गरिएको प्रतियोगिता राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा बटुल्दै सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष सुब्बाले बताए।