२ फाल्गुन २०८२
अ+
अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका–२ का २८ वर्षीय सत बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रदेश अस्पताल बेनीमा उपचारका क्रममा बुढाको मृत्यु भएको हो ।

बुढासँगै ढिस्कोले पुरिएका रोल्पाको सुनछहरी–२ का टेकवीर बुढामगर र केशमान बुढामगरलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको उनले जानकारी दिए ।

टेकवीर र केशमान उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका र मृतक सत बुढाको शव प्रदेश अस्पतालको शवगृहमा परीक्षणका लागि राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

आज दिउँसो करिब १ः०० बजेको समयमा काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खसेर उनीहरूलाई पुरेको थियो ।