काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्।
ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका हुन्।
उनले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको बताउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको बताए।
राष्ट्रपति पौडेलले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे।