काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

टी-२० विश्वकप

गत वर्ष ग्लास्गोमा स्कटल्यान्डविरुद्ध चार विकेट लिएका सन्दीपको बलिङ आजको खेलमा निर्णायक

५ फाल्गुन २०८२
स्कटल्यान्डका ओपनर जर्ज मुन्से (बायाँ) र नेपाली लेग स्पिनर सन्दीप लामिछाने। तस्बिर स्रोत : आईसीसी/क्यान
अ+
अ-

टी-२० विश्वकपअन्तर्गत मंगलबार साँझ मुम्बईस्थित वानखेडे रंगशालामा नेपाल र स्कटल्यान्डबीच हुने खेल अंकतालिकाको दृष्टिले खासै अर्थपूर्ण देखिँदैन। दुवै टोली सुपर-८ को दौडबाट बाहिरिइसकेका छन्। तर, दुवै देशका लागि खेल जितेर प्रतियोगिताको अन्त्य सुखद गर्ने दबाब पक्कै रहनेछ।

बाङ्लादेशले अन्तिम समय प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको सन्दर्भमा स्कटल्यान्ड आकस्मिक रूपमा विश्वकपमा समावेश भएको थियो। अन्तिम समय विश्वकपमा समावेश भए पनि ठूलो मञ्चमा प्रतिस्पर्धा गर्न आफू सक्षम रहेको सन्देश उसले इटालीलाई ७३ रनले पराजित गर्दै दिइसकेको छ। आजको खेलमा झन् नेपाललाई पराजित गरे उसको विश्वकप सहभागिता सार्थक रहनेछ। यसैले होला, शीर्षक्रमका ब्याटर टम ब्रुसले भनेका छन्– ठूला प्रतियोगितामा स्थान पाउन जितले बलियो दाबी प्रस्तुत गर्नेछ।

नेपालका लागि यो खेल भावनात्मक रूपमा अझ महत्त्वपूर्ण देखिन्छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाली टोली प्रतियोगिताभर मुम्बईमै बसेर खेलिरहेको छ। त्यसैले अघिल्ला दुई विश्वकपभन्दा यसपल्ट नेपालले समर्थकको उल्लेख्य साथ पाएको थियो। पहिलो खेलमा इङ्ल्यान्डजस्तो दुईपल्टको विश्वविजेतालाई स्तब्ध पार्ने खेल प्रदर्शन गरेको नेपाल पछिल्ला दुई खेलमा नराम्ररी चुक्यो।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी। तस्बिर स्रोत : क्यान

इङ्ल्यान्डविरुद्ध नेपाल चार रनको झिनो अन्तरले मात्र पराजित भएको थियो। तर, यसपछि प्रतियोगितामा डेब्यु गरेको इटालीसँग १० विकेट र वेस्ट इन्डिजलाई नौ विकेटले नतिजा सुम्पिनु नेपाली टोलीको दुर्भाग्य रह्यो। यस अवस्थामा नेपाल विश्वकपको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गर्दै सुखद अन्त्य गर्न चाहन्छ।

यसपालिको विश्वकप नेपाली लेग स्पिनर सन्दीप लामिछानेका लागि भावनात्मक र व्यावसायिक दुवै हिसाबले असामान्य रह्यो। ‘ग्लोबल आइकन’ को छवि बोकेर मैदान उत्रिएका लामिछानेले तीन खेलमा एक विकेट मात्र प्राप्त गरेका छन्, त्यो पनि ९४ को औसतमा। २५ वर्षको उमेरमा विश्व क्रिकेटमा आफ्नो छाप छोडिसकेका खेलाडीबाट फरक खालको अपेक्षा हुन्छ। तर, यसपटक ती अपेक्षाहरू पूरा हुन सकेनन्।

विश्वकपजस्तो ठूलो मञ्चमा एउटा ओभरमा कहिलेकाहीँ सम्पूर्ण खेलको नतिजा बदलिन्छ। त्यो दिन पनि नतिजा नेपालको पक्षमा गएन।

इटालीविरुद्धको खेलमा एन्टोनी मोस्काले उनलाई खुलेआम चुनौती दिए। लामिछानेको एकै ओभरमा दुई छक्का प्रहार गर्दै १३ बलमा २८ रन जोड्दा खेलको लय नै बदलिएको थियो। ती छक्कासहितको आक्रामक प्रहारले नेपाललाई मात्र होइन, लामिछानेलाई व्यक्तिगत रूपमा पनि दबाबमा राख्यो। विश्वकपजस्तो ठूलो मञ्चमा एउटा ओभरमा कहिलेकाहीँ सम्पूर्ण खेलको नतिजा बदलिन्छ। त्यो दिन पनि नतिजा नेपालको पक्षमा गएन।

तर, क्रिकेटको सुन्दरता नै यही हो। लामिछानेजस्ता बलरले कहिले खराब प्रदर्शन गर्छन् त कहिले उत्कृष्ट प्रदर्शन गर्दै खेल नै जिताइदिने सामर्थ्य राख्छन्। १७ जुन २०२५ मा स्कटल्यान्डको घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामा यस्तै भएको थियो। लामिछानेले स्कटल्यान्डविरुद्ध चार ओभरमा एक मेडन राख्दै ११ रन खर्चेर चार विकेट लिएका थिए। उनकै बलिङका कारण नेपालले खेललाई पूर्ण नियन्त्रणमा राखेको थियो। उनले कप्तान म्याथ्यु क्रस, क्रिस्टोफर म्याकब्राइड, सफायन सरिफ र ज्याक जार्विसलाई पभेलियन फर्काउँदा स्कटल्यान्ड ९७ रनमै समेटिएको थियो। त्यो दिन लामिछानेको गुगली, फ्लिपर र टेम्पो परिवर्तनले विपक्षीलाई पूर्ण रूपमा बाँधेको थियो। यसपल्ट विश्वकपमा कमजोर बनेको आफ्नो लय जोगाउन लामिछानेले त्यही प्रदर्शन दोहोर्‍याउनुपर्ने देखिन्छ। अन्यथा, यो प्रतियोगिता उनका लागि निराशाजनक रहने पक्का छ।

वेस्ट इन्डिजविरुद्धको खेलका क्रममा नेपाली खेलाडी। तस्बिर स्रोत : क्यान

स्कटल्यान्डको ब्याटिङपंक्ति यसपालि बलियो नै देखिएको छ। ओपनर जर्ज मुन्से सधैँ आक्रामक सुरुआतका लागि चिनिन्छन् भने कप्तान रिची बेरिङ्टन उत्कृष्ट लयमा देखिएका छन्। वेस्ट इन्डिजविरुद्ध १९ रनमै आउट भएका मुन्सेले इटालीविरुद्ध सानदार प्रदर्शन गरेका थिए। उक्त खेलमा ७३ रनको विशाल जित निकाल्ने क्रममा उनले १३.५ ओभरसम्म खेल्दै स्कटल्यान्डलाई विशाल स्कोरनजिक पुर्‍याएका थिए। उक्त खेलमा २०७ रन बन्दा उनी एक्लैले ५४ बलमा १३ चौका र दुई छक्कासहित ८४ रनको योगदान गरे।

उनले पछिल्लो समय नेपालविरुद्ध पनि सानदार प्रदर्शन गर्दै आएका छन्। पछिल्लो भेटमा नेपालविरुद्ध ३४ रनको जित निकाल्ने क्रममा उनले ७८ रनको ओपनिङ इनिङ्स खेलेका थिए। ३९ बलको सामना गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गर्दै स्कटल्यान्डलाई १९३ रनको स्थितिमा पुर्‍याएका थिए।

स्कटल्यान्डको अर्को चिन्ता भने स्पिनर मार्क वाटको लय हो। इङ्ल्यान्डविरुद्ध तीन ओभरमा ४३ रन खर्चिंदा उनले कुनै विकेट लिन सकेनन्।

विश्वकपमा पनि कप्तान बेरिङ्टनले दुई पटकका विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डविरुद्ध देखाएको आत्मविश्वास उल्लेखनीय छ। इर्डेन गार्डेनमा भएको वेस्ट इन्डिजविरुद्धको खेलमा उनले २४ बल खेल्दै तीन चौका र दुई छक्कासहित ४२ रनको आक्रामक इनिङ्स खेले। सोही मैदानमा इङ्ल्यान्डविरुद्ध अर्को खेलमा भने उनी अर्धशतकबाट एक रनले चुके। उक्त खेलमा उनले ३२ बलमा पाँच चौका र दुई छक्कासहित ४९ रन बनाए।

स्कटल्यान्डको अर्को चिन्ता भने स्पिनर मार्क वाटको लय हो। इङ्ल्यान्डविरुद्ध तीन ओभरमा ४३ रन खर्चिंदा उनले कुनै विकेट लिन सकेनन्। अर्कातर्फ वाटको बलिङमा टम ब्यान्टनले पहिलो ओभरमै तीन छक्कासहित २२ रन बटुलेपछि खेलको दिशा बदलिएको थियो। ब्यान्टनले उक्त खेलमा अविजित ६३ रन बनाए। यद्यपि, वाट अनुभवी खेलाडी हुन्। त्यसैले एक खेलको असफलताले उनको आत्मविश्वास कमजोर हुने सम्भावना न्यून छ। नेपालजस्तो परिचित टोलीविरुद्ध उनलाई साख फर्काउन सहज पनि हुनेछ।