काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।
निर्वाचनको तयारीसम्बन्धी विषयमा काठमाडौँको निर्वाचन क्षेत्र ३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा उनले यस्तो बताएका हुन्।
सरकारको प्रवक्तासमेत रहेका अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भई आ-आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन अधिकारीलाई निर्देशनसमेत दिए। गृहमन्त्री अर्यालको साथमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सह-प्रवक्ता रमा आचार्य, काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई, निर्वाचन अधिकृत चमिला भट्टराईलगायत टोली स्थलगत निरीक्षणका लागि पुगेको थियो।