लण्डन। बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन विन्डसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरूपयोगको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय समयअनुसार बिहीबार बिहान नारफाकस्थित सेन्ड्रिघम एस्टेटबाट पक्राउ गरिएको हो । यसअघि प्रहरीले पूर्व राजकुमार एन्ड्रयुले यौन दुराचारी जेफ्री एपस्टिनसँग गोप्य सूचना उपलब्ध गराएको विषयमा अनुसन्धान भइरहेको जनाएको थियो ।
एन्ड्रयुले कुनै पनि गलत काम नगरेको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् । गत वर्षमा मात्रै उनले राजकुमारमा उपाधी गुमाएका थिए । उपाधी गुमेसँगै उनले विन्डसरको दरवार रोयल लज पनि छाड्नु परेको थियो । यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धसहित विभिन्न आरोप लाग्दै आएको छ । एन्ड्रयु बेलायतमा करिब चार शताब्दीपछि पक्राउ पर्ने राजपरिवारका सबैभन्दा वरिष्ठ व्यक्ति हुन् ।
बेलायतमा एन्ड्रयु पक्राउ परेको आजको घटना अघि १६४७ मा तत्कालीन राजा चार्ल्स पक्राउ घटनालाई लिने गरिएको थियो । गृहयुद्धको समयमा नयाँ मोडल आर्मीले राजा चार्ल्स प्रथमलाई पक्राउ गरेको थियो । त्यसको एक वर्षपछि उनलाई मृत्युदण्ड दिइएको थियो ।
अमेरिकाका न्याय मन्त्रालयले सार्वजनिक गरेको एपस्टिन सम्बन्धी कागजातमा भएको विवरणलाई अनुसन्धान गर्न एन्ड्रयुलाई पक्राउ गरिएको हो । उनले आफ्नो हङकङ, भियतनाम र सिंगापुरको औपचारिक भ्रमणको बारेमा एपस्टिनसँग विवरण सार्वजनिक गरेका थिए । एन्ड्रयु २००१ देखि २००७ सम्म बेलायतको व्यापार प्रतिनिध रहेका थिए । त्यस समयमा एपस्टिनसँग सरकारको गोप्य सूचना चुहाएको आरोप छ ।
नोभेम्बर २०१० को एपस्टिनलाई एउटा इमेल आफ्नो सल्लाहकारबाट पाएको ५ मिनेटमै फरबार्ड गरेका भेटिएको छ । अमेरिकाका फाइनान्सर तथा यौन अपराधी एपस्टिनसँग एन्ड्रयुको पुरानो सम्बन्ध थियो । त्यसैगरी अर्को इमेलमा उनले अफगानिस्तानको हेलमण्ड प्रान्तमा लगानीको अवसर सम्बन्धी गोप्य जानकारी एपस्टिनलाई गराएका थिए । बाल यौनदुराचारको आरोप लागेका एपस्टिन २०१९ मा जेलमा मृत अवस्थामा भेटिएका थिए । एपस्टिनलाई आत्महत्या गरेको जेल प्रशासनले जनाएको थियो । एपस्टिनसँग सम्बन्धको कारण बिबादमा परेपछि गत वर्ष उनको उपाधी खोसिएको थियो ।