काठमाडौं । गगनकुमार थापाले फागु पूर्णिमा (होली) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समाजको विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधताले नै नेपालको विशिष्ट पहिचान निर्माण गरेको उल्लेख गरेका छन्। उनले फागु पूर्णिमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको सन्देश दिने पर्व भएको बताएका छन्।
थापाले फागु पूर्णिमासँगै प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा आएको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे। लोकतन्त्र सुदृढीकरण तथा समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन उनले सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन्।
सन्देशको अन्त्यमा उनले फागु पूर्णिमाको अवसरले सबै नेपालीको घर–परिवारमा सुख, शान्ति, समृद्धि र प्रगति ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।