काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

राजाको आदेशपछि मालपोत कार्यालयमा अन्योल

९ भाद्र २०८२
मालपोत कार्यालय डिल्लीबजारले देउराली बंगलाको जग्गाको मूल्यांकन गरी प्रतिवेदन बुझाउन काठमाडौं महानगरलाई पठाएको पत्र ।
अ+
अ-

२०६१ असोजको पहिलो साता। राजदरबारअन्तर्गत खर्च विभागबाट डिल्लीबजारस्थित मालपोत कार्यालयका प्रमुखलाई फोन गयो। त्यो फोनका कारण मालपोत अधिकृतबीच हल्लीखल्ली मच्चियो। नायब सुब्बा र खरिदार कानेखुसी गर्न थाले।

जग्गासम्बन्धी काम परे पहिले राजदरबारका भूमिसुधार हेर्ने सचिव मधुसूदनप्रसाद तिमल्सिनाले सम्पर्क गर्थे। तर, त्यो दिन फोन गर्ने अर्कै थिए। उनले शुरूमा दरबारबाटै पठाएको पत्र कार्यान्वयनमा चासो राखे।

पत्रमा कमलादीस्थित देउराली बंगलाले चर्चेको ३ रोपनी १४ आना ३ पैसामध्ये १४ आना जग्गा दरबारकै सरदार शारदाप्रसाद प्रधानका नाममा नामसारी गरिदिनुपर्ने उल्लेख थियो। मालपोतले त्यो पत्रका आधारमा मात्र जग्गा पास गर्न नसकिने, त्यसका लागि केही कागजात आवश्यक पर्ने भन्दै फिर्ता पठायो। दरबारका तर्फबाट त्यसैअनुसार कागजपत्र तयार पारेपछि जग्गा पास गर्न ‘डोर खटाउने’ बारे सल्लाह गर्न फोन गरिएको थियो। प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरेले यही कुरा आफ्ना सहकर्मीलाई सुनाए।

लिखत (रजिस्ट्रेसन) पारितसम्बन्धी कार्यविधिअनुसार जग्गा पास गर्न डोर खटाउन सकिन्थ्यो। डोर भनेको अड्डाबाट केही दिन बाहिर खटाइने कर्मचारीको टोली र त्यस टोलीले गर्ने काम हो। दरबारले देउराली बंगलाको जग्गामा पनि प्रक्रिया पूरा भएको भन्दै डोर आएर रजिस्ट्रेसन पारित गर्न भनेको थियो। प्रमुख मालपोत अधिकृत घिमिरेले ‘हवस्’ भनिदिए। दरबारबाट निर्देशन भयो, ‘शिरमा ढाका टोपी लगाएर आउने, कति बजे र कुन गाडीमा आउने हो गेट नं. ३ लाई जानकारी दिनू।’

मालपोत कार्यालय डिल्लीबजारले देउराली बंगलाको जग्गाको मूल्यांकन गरी प्रतिवेदन बुझाउन काठमाडौं महानगरलाई पठाएको पत्र ।

घिमिरेले आफूसँगै एक जना नायब सुब्बालाई लैजाने निर्णय गरे। दरबारिया लबजमा बोल्न पोख्त उनीहरूले साँझ ६ बजे डोर आउनसक्ने जानकारी दिए। गाडी नम्बर पनि टिपाए।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरू नारायणहिटीको पश्चिम ढोकातर्फ लागे। पास लिएका एक सैनिक कुरेर बसेका रहेछन्। सैनिकले गाडी त्यहीँ छाडेर दरबारका एक जना कर्मचारीको पछि लाग्न भने। दुवैले ती कर्मचारीलाई पछ्याए। उनीहरूलाई दुईतले घरमा पुर्‍याइयो। त्यहाँ कोठाभित्र तीन–चार जना बस्न मिल्ने सोफा राखिएको थियो। कर्मचारीले सोफामा बस्न इसारा गरे।

दरबारका प्रमुख सरदार, भूमिसुधार हेर्ने सचिवसहित आए। तीमध्ये एक जनाले बिहान आफूले फोन गरेको सुनाए र चिया मगाए। मालपोत कर्मचारीले चियासँगै लिखतमा काम अघि बढाउन चाहे। तब सचिव तिमिल्सिनाले भने, ‘राजा ज्ञानेन्द्र शाह सरकारबाट शारदाप्रसाद प्रधानलाई जग्गा बक्स भएको छ। यसमा के–के गर्नुपर्छ?’

मालपोत कर्मचारीले प्रधानको तीनपुस्ते खुल्ने कागजात मागे। नागरिकताका आधारमा लिखत तयार पारे। सरकारी दरअनुसार १४ आनाको थैली ७३ लाख ७६ हजार कायम गरे। लोकनाथ अधिकारी र काजी शिवाकोटी साक्षी बसे। मालपोत अधिकृतले हस्ताक्षर गरे। जग्गा प्राप्त गर्ने प्रधानलाई पनि हस्ताक्षर गर्न लगाए। राजस्व तिरेपछि तत्काल रसिद काटेर दिए। जग्गा कित्ताकाट नापी कार्यालयबाट भोलिपल्ट हुने र जग्गाको पुर्जा दरबारमै उपलब्ध गराइदिने भनी त्यहाँबाट निस्किए।

त्यति बेला बेलुकाको ८:४५ बजिसकेको थियो। यसरी दरबारभित्रै राजदरबार खर्च विभागका नाममा रहेको देउराली बंगलासहितको १४ आना बकस पत्रमार्फत रजिस्ट्रेसन पास भयो।

-मालपोत कार्यालय र दरबारका तत्कालीन कर्मचारीहरूसँग कृष्ण ढुंगानाले गरेको कुराकानीमा आधारित