छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
२०५१ सालको मध्यावधि चुनावपछि पौडेल प्रतिनिधिसभाका सभामुख बने। त्यसपछि गोल्चेलाई केही सांसदले भन्ने गर्थे रे, “तपाईंको हात त साह्रै मलिलो रहेछ। मलाई पनि एकदुई मुक्का हान्दिनुस् न। म पनि सभामुख बन्थेँ कि!”
एकतमासले चलिरहेको जिन्दगीमा कहिलेकाहीँ कुनै दिन यस्तो विस्मयकारी घटना लिएर आउँदो रहेछ, जसले जिन्दगीलाई नै अर्को लय दिँदो रहेछ, अर्को अर्थ अनि अभिप्राय दिँदो रहेछ। एउटा नयाँ उज्यालो दिँदो रहेछ।
मेरो जिन्दगीमा पनि त्यस्तै एउटा दिन आयो, २०५४ सालको वैशाखमा।
स्वर्गबाट आगो चोरेर धरतीमा ल्याउने प्रमिथियस ग्रिक पुराणका पानाबाट सीधै सिन्धुलीको खुर्काेटस्थित दलित बस्तीमा ओर्लिएका थिए।
त्यस दिन स्कुल छुट्टी भएपछि म घर फर्कंदै थिएँ। बाटोछेउको घर अलि परैबाट देखिन्थ्यो। यसो हेर्छु त हाम्रो आँगन मान्छेले भरिभराउ छ। केही बित्यास त परेन?
एक सासमा घर पुगेँ। आँगनभरि मानिस उभिएका थिए। हाम्रो घरमा त्यत्रो भीड जम्मा भएको मैले देखेकै थिइनँ।
बा पनि कार्यालयबाट छिट्टै घर आइपुगेका रहेछन्।
आँगनमा कोही मानिस उठेका छन्, कोही बसेका छन्। र केन्द्रमा छन् एक जना व्यक्ति। होचोहोचो कदका। सिनित्त दाह्री खौरिएका, छोटो कपाल देब्रेतर्फ मोडेका। सेतो सर्ट, कालो प्यान्ट र खैरो इस्टकोट लगाएका। फुर्तिलो ज्यानका ती व्यक्ति हात हल्लाईहल्लाई मान्छेहरूसँग कुरा गरिरहेका थिए।
उनका कुरा मेरो किशोर मस्तिष्कले टिप्नै सकिरहेको थिएन।
उनी घरी लेनिनको नाम लिइरहेका थिए त, घरी कार्ल मार्क्सको।
अनि उनको कुरामा बारम्बार माओत्सेतुङ पनि आइपुग्थे।
कम्युनिस्ट शासन, समाज परिवर्तन र सुधार; केकेकेके भनिरहेका थिए। उनका कुरा मेरो समझको दुनियाँभन्दा बाहिरको थियो। र पनि मलाई मज्जा आइरहेको थियो। मान्छेहरूले उनलाई घेरेका थिए। उनीमाथि अनेक प्रश्न र जिज्ञासाको वर्षा गरिरहेका थिए। सवालजवाफ चलिरहेको थियो।
उनले हरेकका प्रश्नलाई उत्तिकै सम्मान र चासोपूर्वक लिइरहेका थिए र जवाफ दिइरहेका थिए। मानौँ, उनीसँग सबै कुराको जवाफ छ। मानौँ, उनले नजानेको कुरा यस धरतीमा केही छैन। मान्छेहरू उनको गफमा मन्त्रमुग्ध थिए।
कोही एकले सोध्थ्यो, “हाम्रो क्षेत्रमा विकास कहिले आउँछ?”
अर्काे एकले जिज्ञासा राख्थ्यो, “हामी दलितको हालत कहिले फेरिन्छ?”
फेरि अर्काे कोहीले सोध्थ्यो, “सभामुखलाई किन थप्पड हानेको?”
(यो हातपात प्रकरणका बेला रामचन्द्र पौडेल स्थानीय विकास तथा कृषिमन्त्री थिए। गोल्चे सार्की खुर्काेट पुग्दा पौडेल प्रतिनिधिसभाका सभामुख थिए।)
उनले हरेकका प्रश्नलाई उत्तिकै सम्मान र चासोपूर्वक लिइरहेका थिए र जवाफ दिइरहेका थिए। मानौँ, उनीसँग सबै कुराको जवाफ छ। मानौँ, उनले नजानेको कुरा यस धरतीमा केही छैन। मान्छेहरू उनको गफमा मन्त्रमुग्ध थिए। मैले आफूलाई सोधिरहेँ, चुम्बकले फलाम ताने जस्तो मान्छेहरूलाई आफूतिर तानिरहेका यी मान्छे हुन् चाहिँ को?
बिस्तारै अँध्यारोले छोप्दै लग्यो। मानिसहरू पातलिँदै गए। र अन्त्यमा हाम्रो घरमा बाँकी रहे, तिनै बिछट्टका मान्छे।
कोठामा ६० वाटको चिमको उज्यालो पोखिएको थियो। बुबा र ती अद्भुत मान्छे कुनाको गुन्द्रीमा बसेर गफिँदै थिए। आमा भान्सामा पकाइतुल्याइमा व्यस्त थिइन्। कुखुराको भाले काटिएको थियो। सुनकोसीका माछा तारिँदै थिए। घरै मगमगाएको थियो।
दाइ, म र बहिनी आमासँग भान्सामा थियौँ। म एकटकसँग उनैलाई हेरिबसेको थिएँ।
बाले हामीतर्फ नजर हुत्याउँदै भने, “उहाँलाई तिमेर्ले चिन्यौ? उहाँ ठूलो नेता। गोल्चे सार्की। चिन्यौ?”
हामीले चिन्यौँ भावमा टाउको हल्लायौँ।
बाफरे, यति ठूलो नेता हाम्रो घरमा!
मलाई पत्याउन गाह्रो परिरहेको थियो।
राति अबेरसम्म बुबा र ठूला नेताको गफ चलिरह्यो। उनीहरूका कुराको फेदटुप्पो केही नबुझे पनि हामी यसैयसै मक्ख थियौँ। त्यो रात मलाई आफ्नो घरले काँचुली फेरे झैं लाग्यो। गोल्चेको रौनकले हाम्रो घर उज्यालिएको थियो।
“बच्चाबच्चीलाई पढाउनुभाको छ कि छैन?” गोल्चेले बुबातर्फ नजर गाढेर बोले, “राम्रोसँग पढाउनुपर्छ है। अहिल्या कालाँ शिक्षा जस्तो ठूलो क्यै छैन। छोराछोरीका लागि मैले केही गर्नुपर्छ भने धक नमानी भन्नुहोला।”
त्यसपछि हातको इसाराले उनले हामी तीनै जनालाई आफूतिर डाके। हामी डराईडराई उनीनजिक पुग्यौँ। उनले बहिनीलाई काखमा लिए र प्रेमले उनको कपाल मुसारे।
“ल भन त, तिमेरु ठूलो भएसि के बन्ने?” उनले सोधे।
बहिनीले मसिनो स्वरमा भनी, “नर्स।”
दाइले जिल्लामै उत्कृष्ट अङ्क ल्याएर एसएलसी पास गरिसकेको थियो। उसले आफ्नो जीवनको लक्ष्य बतायो, “डाक्टर।”
अब पालो थियो मेरो।
म पनि के कम?
भनिदिएँ, “म त इन्जिनियर बन्ने।”
त्यति बेला बुबाको अनुहार धपक्कै बलेको थियो। मानौँ, उनी नर्स, डाक्टर र इन्जिनियरका पिता तत्क्षण बनिसकेका थिए।
ठूला नेता र हामीबीचको दोहोरो संवाद सकियो। तर राति अबेरसम्म बुबा र ठूला नेताको गफ चलिरह्यो। उनीहरूका कुराको फेदटुप्पो केही नबुझे पनि हामी यसैयसै मक्ख थियौँ। त्यो रात मलाई आफ्नो घरले काँचुली फेरे झैं लाग्यो।
गोल्चेको रौनकले हाम्रो घर उज्यालिएको थियो। घरै उज्यालो, मनै उज्यालो भएको थियो।
गोल्चे : एक पात्र, एक मिथक, एक ‘ब्रान्ड’
सिन्धुलीको खुर्कोट।
खरले छाएका तीन घर अर्थात् हाम्रो परिवारको ओत लाग्ने ठाउँ। टाढाबाट हेर्दा मलको थुप्रो जसरी थपक्क बसेका देखिन्थे, ती तीन घर।
बाटोछेउमै थियो हाम्रो घर। सानो बार्दलीसहितको घर। फराकिलो आँगन।
अलि पर देवकोटा र मैनाली बस्ती थिए, ५०-५५ घरका। जस्ता र ढुङ्गाले छाएका घर। जात सोपानको माथ्लो तहमा अवस्थित देवकोटा र मैनालीका घरका छानाले सम्पन्नताको धेरथोर अभिव्यक्ति दिने नै भए।
तलतिर माझी समुदायको चारघरे बस्ती थियो। माझी बस्तीका वेदना र सुस्केरा समेटेर समीपै सुसाइरहन्थ्यो सुनकोसी, बगिरहन्थ्यो अविरल। यस नदीले माझीहरूलाई सबथोक दिएको थियो। सबैभन्दा ठूलो कुरा माछा दिएको थियो। माछाका रूपमा सास धान्ने गुजाराको बाटो दिएको थियो।
चुनाव जित्न गोल्चे अपरिहार्य जस्तै थिए। तर जात व्यवस्थाले उनलाई तल्लो सिँढीमै अवस्थित गराएको थियो। कुनै गैरदलित कम्युनिस्टको दैलो उनका निम्ति खुला थिएन। समानतालाई आदर्श मान्ने कम्युनिस्टहरूकै घरभित्र पस्ने अनुमति उनलाई थिएन।
त्यही सुनकोसीलाई साक्षी राखेर उभिएको थियो हाम्रो घर। घरबाट १५ मिनेटको दूरीमा थियो स्कुल। र मेरो जीवनले पनि पन्ध्रै वर्षको दूरी पार गरेको थियो। निकटिँदो एसएलसी परीक्षाको तयारीमा थिएँ। ‘आइरन गेट’, ‘फलामे ढोका’, ‘लौहद्वार’ का रूपमा ख्यात/कुख्यात एसएलसी पार गरेर मैले जीवनको नयाँ गोरेटो खन्नु थियो। एसएलसी एक प्रकारले भय र त्रासको बिम्ब थियो। यसको नामैले पनि मनमा डर पैदा गर्थ्यो। सायद नेपाली शिक्षा प्रणालीले कलिला किशोरकिशोरीमाथि हिंसा गर्ने एउटा अस्त्र थियो पो थियो कि एसएलसी?
भोलिपल्ट बिहान उज्यालो खस्न नपाउँदै हाम्रो आँगन पुनः भरिभराउ भयो। चियापानपछि नामी नेताले बाटो तताइहाले।
गोल्चे त हिँडे, मेरो मनमस्तिष्कले भने उनलाई नै पछ्याइरह्यो। उनी मभित्र झङ्कृत भइरहे।
एउटा प्रश्न अनुत्तरित नै रह्यो– होइन, यति ठूला नेता हाम्रो घरमा चाहिँ किन आए होलान्?
स्थानीय निकाय निर्वाचन, २०५४ ले देशलाई छपक्कै छोपेको थियो। चुनावी पर्यावरणमा गाउँसहर जिन्दावाद र मुर्दावादका नाराले गुन्जायमान थिए। गोल्चे रहेछन्, एमालेका ‘सेलिब्रिटी’ नेता। पार्टीका केन्द्रीय सदस्य अनि राष्ट्रियसभा सदस्य। उनी कतिसम्म लोकप्रिय थिए भने उनका भाषणका क्यासेटसमेत बिक्री हुन्थे।
मलाई लाग्यो, हाम्रो समुदायको मान्छे यति ठूलो हुन पनि सम्भव रहेछ। उनी मलाई आफ्नै मान्छे लागे, परिवारकै सदस्यसरह। नत्र किन हाम्रै घरमा आएर बस्थे त?
स्थानीय नेताले चुनावी प्रचारका लागि गोल्चेलाई बोलाएका रहेछन्। सिन्धुलीमा निकै ठूलो दलित बस्ती भएकाले चुनावीयाममा गोल्चेको उपस्थिति निकै महत्त्वपूर्ण थियो।
तर फसाद त त्यति बेला परेछ, जब प्रश्न आयो; गोल्चेलाई राति खुवाउने कहाँ? सुताउने कहाँ?
स्थानीय नेताले नै जुक्ति निकालेछन्, खरदारको घरमा। अर्थात्, हाम्रो घरमा।
चुनाव जित्न गोल्चे अपरिहार्य जस्तै थिए। भाषण तगडा गर्ने ठूला कम्युनिस्ट नेता थिए। उनको चर्चा जिल्लादेखि केन्द्रसम्म थियो। नेताका रूपमा प्रभावशाली थिए। तर जात व्यवस्थाले उनलाई तल्लो सिँढीमै अवस्थित गराएको थियो। कुनै गैरदलित कम्युनिस्टको दैलो उनका निम्ति खुला थिएन। समानतालाई आदर्श मान्ने कम्युनिस्टहरूकै घरभित्र पस्ने अनुमति उनलाई थिएन।
खटखटखटखट… हाम्रो घरको सर्वकालीन धुन थियो। प्रिय धुन। यसको सुर र सङ्गीतमा यति अभ्यस्त भइसकेका थियौँ कि, हामी यसमा नारायणगोपाल, अरुणा लामा, झलकमान गन्धर्व, दिलमाया खातीका गीतमा भन्दा बढी मिठास पाउँथ्यौँ। एक खालको आत्मीयता गाँसिएको थियो, खटखटको प्राङ्गारिक आलापसँग।
गोल्चेलाई एक छाक खुवाउन र एक रात सुताउन अन्ततः कृष्णबहादुर परियार नाउँको दलित नै खोज्नुपर्यो।
अघि अनुत्तरित रहेको प्रश्न –यति ठूला नेता हाम्रो घरमा चाहिँ किन आए होलान्– को जवाफ प्रस्टसँग सतहमा आयो। जति ठूलो नेता भए पनि उनी छनलाई दलित थिए। कुनै गैरदलितको मुटु यति विशाल थिएन, आफ्नो घरमा गोल्चे सार्कीको स्वागतको तारतम्य मिलाओस्!
हाम्रो घरमा बस्नखानको उति दुःख थिएन। बा सरकारी जागिरे थिए; इलाका हुलाक कार्यालय, खुर्कोटका प्रमुख। दलित समुदायबाट सम्भवतः जिल्लाकै एक मात्र सरकारी जागिरे। एसएलसी पास गर्नेबित्तिकै उनी हुलाकको बहीदार भएका रहेछन्।
बा खरदारका नामले गाउँमा विख्यात थिए। सहयोगी र उदार स्वभावका कारण सबैका प्रिय थिए। गाउँका लागि उनी ‘अनिवार्य मानिस’ थिए।
गाउँमा कोही बिरामी परे– खरदार!
कसैलाई चिठी पठाउनुपरे– खरदार!
कसैको सञ्चयकोष निकाल्नुपरे– खरदार!
कसैलाई आपत् परे– खरदार।
कसैको कपडा सिलाउनुपरे– खरदार।
बाले हामीलाई कहिल्यै कल छुन दिएनन्। हामी पनि कलको ह्यान्डिल घुमाउँदै खटखटखट आवाज निकाल्ने खुब रहर गर्थ्यौं। तर कल राख्ने कोठाको सँघार टेक्यो कि उनी चिच्याइहाल्थे, “तिमीहरू कलमा होइन, किताबमा बल गर।”
यस्तो लाग्थ्यो, मेरा खरदार बा गाउँका लागि अक्सिजनसरह थिए। मानौँ, उनीबिना गाउँ सास फेर्न सक्दैनथ्यो।
हामी उठ्दा बा कलमा घोप्टिइसकेका हुन्थे। कलको खटखटखट आवाज एकनास आइरहेको हुन्थ्यो। नौ बजेतिर हुलाकको बाटो तताउँथे। साँझ केही चिठी र पत्रपत्रिका बोकेर घर फर्कन्थे। हामी पत्रिकाका चित्र र अक्षरमा आँखा डुलाउँथ्यौँ। गाउँमा पत्रपत्रिकाको पहिलो पाठक बन्थ्यौँ हामी। बा भने कलमा बसेर उही खटखटमा मग्न हुन्थे।
दसैं जस्ता चाडपर्वका बेला त बा चौबीसै घण्टा सिलाइमा साधनारत हुन्थे। हामी कलको आवाजसँगै निदाउँथ्यौँ र भोलिपल्ट बिहान कलको आवाजसँगै ब्युँझन्थ्यौँ।
खटखटखटखट… हाम्रो घरको सर्वकालीन धुन थियो। प्रिय धुन। यसको सुर र सङ्गीतमा यति अभ्यस्त भइसकेका थियौँ कि, हामी यसमा नारायणगोपाल, अरुणा लामा, झलकमान गन्धर्व, दिलमाया खातीका गीतमा भन्दा बढी मिठास पाउँथ्यौँ। एक खालको आत्मीयता गाँसिएको थियो, खटखटको प्राङ्गारिक आलापसँग।
मेरा बा खरदार कृष्णबहादुरको जीवनमा कि हुलाक थियो कि कल!

कसैलाई नयाँ र शुभ समाचार दिएर हर्षित तुल्याउँथे। अनि कसैका आङमा नयाँ परिधान पहिराइदिएर उसलाई मक्ख पारिदिन्थे। कस्तो भव्य थियो, उनको जीवन! अरूका निम्ति खुसी र प्रफुल्लता आविष्कार गर्नु जसको लक्ष्य थियो।
उनको जीवनको एउटै मन्त्र थियो, काम, काम र काम…।
उनलाई हामीले कहिल्यै फुर्सदमा देखेनौँ। कसैको कुरा काट्दै दिन कटनी गरेको देखेनौँ। रक्सीले हल्लिएको र यसै रल्लिएको देखेनौँ। भट्टीमा गएर बबाल गरेको देखेनौँ, चिया पसलमा गएर डिङ हाँकेको देखेनौँ।
उनका लागि लत, लगाब, मनोरञ्जन जे भने पनि काम थियो।
सबलाई काम चाहिएको थियो। त्यसैले उनी सबैका प्रिय पात्र थिए।
उनले हामीलाई कहिल्यै कल छुन दिएनन्। हामी पनि कलको ह्यान्डिल घुमाउँदै खटखटखट आवाज निकाल्ने खुब रहर गर्थ्यौं। तर कल राख्ने कोठाको सँघार टेक्यो कि उनी चिच्याइहाल्थे, “तिमीहरू कलमा होइन, किताबमा बल गर।”
सायद बालाई किताबप्रति यति भरोसा थियो कि, उनलाई लाग्थ्यो, कुनै चीजले हाम्रो जीवनमा –दलित जीवनमा– कुनै बदलाब ल्याउँछ, उन्नयन ल्याउँछ भने त्यो किताबले ल्याउँछ।
गोल्चे सार्की हाम्रो घरमा बास बसेको दिन बाले उनलाई औँल्याउँदै हामीलाई भनेका थिए, “देख्यौ? तिमेरु पनि यस्तै ठूलो मान्छे हुनुपर्छ!”
मैले एसएलसी पास गरेँ, २०५५ सालमा। र थप अध्ययनार्थ काठमाडौँ आइपुगेँ।
गोल्चेले आफूनिकटका साथीभाइसँग भन्ने गर्थे, “मैले बोल्दाखेरि रामचन्द्रले मन्त्री बस्ने डेस्कबाट हेपेर जिस्काउँदै गए। मैले साह्रै अपमानबोध गरेँ। सहन नसकेर बजाइदिएँ।”
तर गोल्चेसँग मेरो भौतिक भेटघाट भएन।
नेपाली राजनीतिमा गोल्चे बेलाबेला चर्चामा छाउँथे। उनकै कारण यदाकदा राजनीति तरङ्गित हुन्थ्यो।
उनको पृष्ठभूमि सङ्घर्षशील थियो। हुने नै भयो। किनभने दलित जिन्दगीमा केही भरपूर हुन्छ भने त्यो सङ्घर्ष नै हुन्छ। राजनीतिमा लाग्नुअघि न्युरोड, पीपलबोटमा बसेर जुत्ता सिउँथे, गोल्चे। यो जीविकामार्ग लामै समय चल्यो। रहँदाबस्दा, बेहोर्दा–भोग्दा उनी कम्युनिस्ट राजनीतिप्रति आकर्षित भए र नेकपा (माले) का कार्यकर्ता बन्न पुगे।
२०४४ सालको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा (माले) ले जनपक्षीय उम्मेदवारका रूपमा गोल्चेलाई प्रधानपञ्चको टिकट दियो। त्यसपछि मात्रै उनको र पीपलबोटको साइनो टुट्यो। जुत्ता सिउने कामबाट पनि बल्ल अवकाश पाए।
नेपालको संसदीय इतिहासमा गोल्चे सार्कीको नाम ‘मुक्काकाण्ड’सँग जोडिएको छ। २०५० साउन ६ मा राष्ट्रियसभाको बैठकमा उनले रामचन्द्र पौडेल (अहिलेका राष्ट्रपति) लाई मुक्का हानेका थिए। यस प्रकरणका अनेक ‘भर्सन’ र किस्सा छन्।
त्यस भौतिक आक्रमण प्रकरणको भोलिपल्ट राष्ट्रिय दैनिक कान्तिपुरमा ‘मन्त्री पौडेलमाथि हातपात : सांसद सार्की निलम्बित’ शीर्षकमा समाचार छापिएको थियो। त्यति बेलाका अन्य पत्रपत्रिकाले पनि यस घटनालाई प्रमुखतासाथ छापेका थिए। कान्तिपुरमा प्रकाशित समाचारअनुसार गृहमन्त्रीको पनि जिम्मेवारी सम्हालेका (तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा भुटान गएका थिए) स्थानीय विकास तथा कृषिमन्त्री पौडेललाई गोल्चेले मुक्का हानेका थिए। “रोस्ट्रमबाट फर्कने क्रममा सार्कीले संसद् भवनको अघिल्लो पङ्क्तिको कुर्सीमा गालामा हात राखेर बसिरहेका पौडेललाई चार मुक्का हानेका थिए,” समाचारमा उल्लेख छ।
मुक्काकाण्डपछि कतिपयका नजरमा गोल्चे ‘हिरो’ भए भने कतिपयका नजरमा ‘भिलेन’। एकथरीले मुक्काको महिमामण्डन कतिसम्म गरे भने यसलाई गोल्चेको ब्रान्ड नै बनाइयो। मैले सुनेअनुसार यस प्रकरणमाथि गीतसमेत बनेको थियो, जसको बोल थियो– रामचन्द्रलाई चड्कन हाने गोल्चे सार्कीले।
कान्तिपुरका अनुसार दासढुङ्गा दुर्घटनालाई लिएर सरकार र एमालेबीच विवाद चर्किरहेको थियो। चक्काजाममा उत्रिएका एमाले सांसदलाई पक्राउ गरिएको थियो। सोही विषयमा जवाफ दिन गृहमन्त्रीका हैसियतमा पौडेल राष्ट्रियसभामा उपस्थित भएका थिए। पौडेलले जवाफ दिनुअघि चक्काजाममा पक्राउ परेका सांसदका तर्फबाट एमाले सांसद् सार्कीले बोल्ने अवसर पाए। रोस्ट्रमबाट फर्किने क्रममा उनले मुक्काकाण्ड भएको थियो।
त्यसपछि गोल्चेलाई एक साता राष्ट्रियसभाबाट निष्कासन गरिएको थियो।
मुक्काकाण्डपछि कतिपयका नजरमा गोल्चे ‘हिरो’ भए भने कतिपयका नजरमा ‘भिलेन’। एकथरीले मुक्काको महिमामण्डन कतिसम्म गरे भने यसलाई गोल्चेको ब्रान्ड नै बनाइयो। मैले सुनेअनुसार यस प्रकरणमाथि गीतसमेत बनेको थियो, जसको बोल थियो– रामचन्द्रलाई चड्कन हाने गोल्चे सार्कीले।
गोल्चे पौडेलमाथि केकति कारणले भौतिक आक्रमणमै उत्रिए भन्ने विषय अब अतीतको गर्भमै विलीन भइसकेको छ। मैले सुनेअनुसार उनी आफूनिकटका साथीभाइसँग भन्ने गर्थे, “मैले बोल्दाखेरि रामचन्द्रले मन्त्री बस्ने डेस्कबाट हेपेर जिस्काउँदै गए। मैले साह्रै अपमानबोध गरेँ। सहन नसकेर बजाइदिएँ।”
२०५१ सालको मध्यावधि चुनावपछि पौडेल प्रतिनिधिसभाका सभामुख बने। त्यसपछि गोल्चेलाई केही सांसदले भन्ने गर्थे रे, “तपाईंको हात त साह्रै मलिलो रहेछ। मलाई पनि एकदुई मुक्का हान्दिनुस् न। म पनि सभामुख बन्थेँ कि!” यस्ता मजाक र ठट्टाका किस्सा सुनाउने राजनीतिकर्मी अहिले पनि भेटिन्छन्।
पार्टी एकतापछि एमालेसँग गोल्चे चरम असन्तुष्ट थिए। तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि उनलाई श्रम तथा यातायात सहायकमन्त्री बनाइदिए। यसरी एक जना दलित नेताको प्रगतिशील राजनीति समाप्त भएको थियो।
अलिक पछि उनको मृत्यु भयो भन्ने खबर थाहा पाएँ। त्यस रात म निकैबेर अनिदो रहेँ। जीवनको पछिल्लो कालखण्डमा प्रतिगामी, लोकतन्त्रविरोधी र अँध्यारो राजनीतिमा सहभागी भए पनि उनले एक समय चेतनाको उज्यालो मसाल बोकेका थिए।
कुनै बेलाका प्रमिथियस जस्ता ती गोल्चेप्रति मेरो हृदयको एउटा कुनामा आज पनि एक खालको लगाबपूर्ण प्रेम छ।
(आज २१ जेठमा लोकार्पण हुने परियारको संस्मरणात्मक पुस्तक सियोधागोको अंश)