काठमाडौं। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य पनि हुन्।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार नियन्त्रणमा लिएको हो।
एक महिलालाई अनलाइनमार्फत दुर्व्यवहार गरेको उजुरीको आधारमा पाँडेलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीले नेपालन्युजलाई जानकारी दिए। उनलाई उजुरीउपर छलफल गर्न ब्युरोमा बोलाइएको थियो। उनलाई छलफलकै क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले पाँडेलाई भोटाहिटीस्थित ब्युरोमै हिरासतमा राखिएको छ।
“एक महिलालाई अनलाइनमार्फत दुर्व्यवहार गरेको उजुरीको विषयमा सोधपुछ गर्न उहाँलाई नियन्त्रणमा राखेका हौं। आज अदालत लैजान भ्याइएन। भोलि अदालत लगेर म्याद थप गर्छौं”, अवस्थीले भने।
पाँडे वायुमण्डलसम्बन्धी वैज्ञानिक हुन्। जलवायु परिवर्तन, दिगो विकास, प्रदूषण लगायतका क्षेत्रमा उनले नेपाल, फिलिपिन्स र जापानमा सरकारको सल्लाहकार भएर काम गरेका थिए।