काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१२ भाद्र २०८२
अ+
अ-

काठमाडाैं। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी यस पर्वलाई विशेष रूपमा मनाउँछन्।

पौराणिक परम्पराअनुसार महिलाले बिहानै उठेर नदी, खोला, तलाउ वा पोखरीमा स्नान गरी ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरेर शुद्धीकरण गर्ने गरिन्छ। कुनै त्रुटि वा दोष भएमा आजको दिन सप्तऋषिको पूजा गर्दा त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष तथा धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार रजस्वला अवधिका दोष निवारणका लागि ऋषिपञ्चमीको पूजा अति महत्वपूर्ण मानिन्छ। यस दिन महिलाले पञ्चगव्य सेवन गर्ने, स्नान गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन छ।

ऋषिपञ्चमीसँग सम्बन्धित किंवदन्तीअनुसार, प्राचीन समयमा इन्द्रले विश्वरुप ऋषिको हत्या गर्दा प्राप्त ब्रह्महत्या दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको थियो। त्यसैको परिणाम स्वरूप उषरभूमि, वृक्षको खोटो, पानीको फिँज र महिलामा रज उत्पन्न भएको मान्यता छ।

आजको दिन स्नान गरी पूजा गरेर सामा, कागुनो, कन्दमूल र कर्कला आदिको हविष्य एक छाक सेवन गर्ने व्रतविधि छ। राजधानीको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ।