काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ भाद्र २०८२
अ+
अ-

कञ्चनपुर। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको तेस्रो दिन आज गौरादेवीलाई घरमा भित्र्याइएको छ । आज व्रतालु महिलाले नजिकैको खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाएर ‘गौरादेवी’ लाई घरमा भित्र्याएका हुन् ।

खेतबाट धान, साँउधान, कुर्जोलगायत सङ्कलन गरी रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाई गौरा घरमा ल्याउने चलन रहिआएको लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिए । “गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ, एउटा काठको पिर्कोमा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गर्ने परम्परा छ”, उनले भने, “साँझपख व्रतालु महिला गौराघरमा जम्मा भई ब्रहमण बोलाएर गामूर्तिमा अभिषेक गरी पञ्चपूर्वाङ्गसहित गौरामहेश्वरको पूजाआजा गर्दछन् ।”

भट्टले आज विशेष किसिमका सात वटा गाँठा भएको धागोलाई गौरामा चढाएर अभिषेक गरेपछि महिलाले घाँटीमा धारण गर्ने जानकारी दिए । “भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल वा कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ”, उनले भने ।

यो वर्ष उज्याली गौरा परेकाले पहिलोपटक दुवधागो लगाउनका लागि उत्तम मानिएको व्रतालु पुष्पा पन्तले बताइन् । उनले भनिन्, “विवाहित नारीले आफ्नो कूल, परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवितका रूपमा दुवधागो लाउने प्रचलन छ ।” उज्याली गौरा परेको वर्ष सर्वप्रथम पुत्रदा एकादशीको व्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने उनले जानकारी दिइन् ।

अष्टमी गौराको महत्त्वपूर्ण दिन हो । यसलाई अठ्यावाली भन्ने गरिन्छ । यो दिन महिलाहरूले सगुन फागसहित गौरालाई गौरा हुँदै आइरहेको आँगनमा लगेर राख्छन । सबै महिलाहरू जम्मा भई अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा गर्ने परम्परा रहेको व्रतालु सरस्वती जोशीले बताइन् ।

“अठ्यावाली पूरा भएपछि फलफट्काउने काम गरिन्छ, दुई जना पुरुषले च्यादरमा गौरामा चढाएका फलफूल तथा बिरुडालाई पूर्व, पश्चिम, उत्तर, दक्षिण र आकाशतिर फाल्ने गरिन्छ”, उनले भनिन्, “आकाशमा फालिएका बिरुडालाई प्रसादका रूपमा व्रतालु महिला तथा उपस्थित सबैले ग्रहण गर्दछन् ।” उनका अनुसार महिलाले आफ्ना पति, परिवारलगायत घरका सबै सदस्यको बिरुडाले टाउको पूज्ने र आशीर्वाद लिनेरदिने चलन छ ।

साउन महिनाको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्रचीन कालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीको रूपमा पूजा गरिँदै आइएको जोशीले जानकारी दिइन् । उनका अनुसार पर्वका अवसरमा यहाँका विभिन्न स्थानमा देउडा खेलका साथै पुरुषले ढोलक र मिजुराका साथै स्थानीय देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुष्को, धमारी, ठाँडोखेल, चैतलगायत नृत्य प्रस्तुत गर्छन् ।