नेपाल सरकारले तीन वर्षसम्म पनि ‘न्याय’ नदिएको मृतकका बुबाको गुनासो
७ वैशाख २०७९ (२० अप्रिल २०२२) को बिहान। काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित होटल म्याजेस्टिक (साबिक मनाङ) को स्विमिङ पुल छेउमा आइरिस नागरिक ३२ वर्षीय अलन म्याकफिलिप्स मृत फेला परे।
होटलको पहिलो तलाको बाहिर छतको भागनजिकै पूर्वपट्टि किनारमा स्विमिङ पुल थियो। पुलको किनारमै होटलको सिँढी जोडिएको थियो। सिँढीको भागमा दक्षिणतर्फ टाउको, उत्तर खुट्टा र घोप्टो परेको अवस्थामा उनी मृत भेटिएका थिए।
उनको बायाँ खुट्टा स्विमिङ पुलभित्र र दाहिने खुट्टा बाहिर थियो। शरीरमुनि गमला फुटेको थियो। दाहिने कानको पछाडि टाउकोमा चोट थियो। रगत बगेको थियो। होटलको लिफ्टमा पाइला थिए।
बिहान साढे ५ बजे बत्ती निभाउने क्रममा सुरक्षा गार्ड रामबहादुर गुरुङले अलनलाई हलचलविहीन देखेका थिए। घटनास्थलमा प्रहरी भने दुई घण्टापछाडि ७:३५ मा मात्रै पुगेको थियो।
प्रहरी पुग्दा अलनसँगै होटल म्याजेस्टिक छिरेका बेलायती नागरिक जोसेफ विलियम सार्लान्ड सातौं तलाको भुइँमै सुतिरहेका भेटिए। उनलाई प्रहरीले उठायो। उठाउँदा मात्रै जोसेफले अलनको मृत्यु भइसकेको थाहा पाएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घटनापछि प्रहरीले जोसेफ, गार्ड गुरुङ, होटलका रिसेप्सनिस्ट सन्तोष रिमाल र होटल म्यानेजर मेलिना राईसँग सोधपुछ गर्यो। परिसरको दाबीअनुसार अलन र जोसेफ मात्रै उक्त होटल छिरेका थिए। उनीहरूले बुक गरेको होटल भने चाक्सीबारीमा थियो। जहाँ उनीहरूसँग घुम्न आएका अन्य तीन जना ब्रिटिस नागरिकसमेत बसेका थिए।
मृतक अलनसँगै पाँच जना विदेशी २४ चैत २०७८ (७ अप्रिल २०२२)मा काठमाडौं आएका थिए। पाँचै जना घटना भएको अघिल्लो दिन सगरमाथा आधार शिविरबाट फर्किएका थिए। प्रहरीका अनुसार तीन जना चाक्सीबारीको होटल न्यु एभरेस्टमा बसे। प्रहरीको दाबीअनुसार, अलन र जोसेफ मात्रै रमाइलो गर्न साँझ सोह्रखुट्टे निस्किए, घुम्ने क्रममा उनीहरूले रेस्टुराँ छिरेर मदिरा सेवन गरे।
राति करिब १ बजे उनीहरू होटल जाने ‘बाटो बिर्सिएर’ म्याजेस्टिक होटल (मनाङ) छिरेको प्रहरीको दाबी छ। गार्डले रोक्न खोज्दा जबरजस्ती छिरेर उनीहरू होटलको लिफ्ट चढेर छैटौं तलामा पुगेको होटलका गार्ड र रिसेप्सनिस्टसँग प्रहरीले गरेको कागजमा उल्लेख छ।
छैटौं तलामा कुनै झगडा र विवाद भएको थियो? ‘गार्डले त्यो सुनेनन्, रिसेप्सनमा बसेका व्यक्तिले पनि सुनेनन्। राति अलन स्विमिङ पुलछेउमा खसेको हामीले थाहा पाएनौं। अलनलाई बिहान मृत देखेको हुँ,’ होटल म्याजेस्टिक (मनाङ)का सुरक्षा गार्ड गुरुङले प्रहरीसँगको बयानमा भनेका छन्।
प्रहरी पुग्दा होटलको छैटौं तलाको प्यासेजमा भुइँमा पहेँलो रंगको ज्याकेट, सातौं तलाको फलामको रेलिङमा नीलो रंगको ज्याकेट भेटियो। सातौं तलाको छतमा मोबाइल एक थान, एटीएम कार्ड राख्ने पावर बैंकलगायत सामान भेटिए। ती अलनकै थिए भन्ने दाबी प्रहरीको छ।
सोधपुछमै सीमित
प्रहरीले शवको मुचुल्का उठायो। फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइयो।
पोस्टमार्टम रिपोर्ट ११ वैशाख २०७९ (२४ अप्रिल २०२२) मा आयो। रिपोर्टमा अलनको बाहिरी–भित्री चोटपटक धेरै देखियो। टाउकोको दाहिनेपट्टि गहिरो काटिएको घाउ, धेरै ठाउँमा कोरिएको, बायाँ आँखा वरिपरि रगत जमेको र दाहिने नाडी भाँचिएको थियो।

दाहिने भाग घुँडा, देव्रे पाखुरा, ढाडमा कोरिएको र रक्ताम्य भएको थियो। ढाडमा सानो प्वालजस्तो देखिएको थियो। टाउकोमा रगत जमेको थियो। गिदी सुन्निएको, गिदीको दाहिनेपट्टि रगत बगेको थियो। छातीमा देब्रेतिर दुई नम्बरदेखि ७ नम्बर करङ भाँचिएका थिए। दायाँ करङ दुईदेखि ८ नम्बरसम्म सबै र छातीको बीचको हड्डी दुई ठाउँमा भाँचिएको थियो। मुटु र फोक्सो च्यातिएको र दुवैतिर रगत जमेको थियो। ढाड टुक्रिएको थियो, कलेजोमा पनि अलिअलि चोट देखिएको थियो।
टाउको, छाती र ढाडमा लागेको धक्काका कारण लागेको चोटपटक नै मृत्युको कारण थियो। डाक्टरले पोस्टमार्टम रिपोर्टमा लेखेका थिए– कुनै अग्लो ठाउँबाट खस्दा लाग्ने चोटसँग मिल्दोजुल्दो देखियो।

यी तथ्यले खस्नुअघि के भयो र कसरी खसे स्पष्ट भने गर्दैन। घटनापछि पीडितका तर्फबाट जाहेरी परेन, प्रहरीले पनि आफैं यो शंकास्पद मृत्यु हो भनी चासो लिएर अनुसन्धान गरेन। “हत्या भयो भनी कसैविरुद्ध किटानी जाहेरी परेको देखिँदैन,” प्रहरी उपरीक्षक बोहरा भन्छन्।
प्रहरीको फरेन्सिक जाँच भने २८ असार २०७९ (१२ जुलाई २०२२) मा आइपुग्यो। जाँचले अलनले अल्कोहल सेवन गरेको देखायो। लागूऔषध सेवन नगरेको पत्ता लाग्यो। रगतमा कीटनाशक औषधि र फस्फिन ग्यास जाँच गर्ने प्रविधि नभएको भनी प्रहरी प्रयोगशालाले रिपोर्ट दियो।
घटना दुई वर्ष पुग्न लागेपछि प्रहरी वृत्त लैनचौरले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३१ को उपदफा (१) बमोजिम कसैउपर मुद्दा नचलाउने गरी २१ चैत २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पत्र पठायो। प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले २०८१ वैशाख ४ गते निर्णय गरी हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी निर्णय गरिदिएको छ।
फौजदारी कार्यविधि संहिता २०७४ अनुसार घटनाको दुई वर्षसम्म अनुसन्धान अगाडि बढ्न नसकेका घटनाको फाइल तामेलीमा राख्न पाइन्छ, पुनः अनुसन्धान गर्न सकिने बाटो खुला राख्दै। पीडितले जाहेरी दिए, अदालतमा मुद्दा परे आदेशअनुसार फेरि घटना अनुसन्धान गर्न सकिने प्रहरी उपरीक्षक बोहरा बताउँछन्। “खै त्यतिबेला के कसरी लेखियो, कसरी निर्णय लिइयो, पुरानो कुरा अहिले मैले भन्न सकिनँ,” बोहरा भन्छन्, “फेरि अनुसन्धान गर्न नसकिने पनि होइन।”

यस बीचमा अलनका आफन्तले अनुसन्धान हचुवा भएको भन्दै गुनासो गरिरहे। प्रहरी भने घटना अनुसन्धानको सट्टा तामेलीमा राख्न सरकारी वकिललाई चिठी लेख्न हतारियो। यसै पनि नेपाल प्रहरीको अनुसन्धान विवादरहित छैन। निर्मला पन्त बलात्कार–हत्यादेखि सुन तस्करी प्रकरणमा नेपाल प्रहरीले गरेको अनुसन्धान राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आलोचित छ।
यही यथार्थबीच विदेशी नागरिक मृत्यु घटनामा चित्तबुझ्दो अनुसन्धान नगरी फाइल तामेली गर्दा शंका उब्जिने प्रहरीकै पूर्वअधिकारी बताउँछन्। “शंकास्पद र आपराधिक घटनामा जाहेरी आइरहनै पर्दैन, प्रहरीले आफैं सक्रिय भएर अनुसन्धान गर्नुपर्ने हो,” पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भन्छन्, “अनुसन्धानकर्ताले पीडितलाई चित्त बुझाउन सक्नुपर्छ, विदेशी नागरिक मृत्यु घटनामा अनुसन्धान चित्तबुझ्दो भएन भने अन्तर्राष्ट्रिय रूपमै नेपाल प्रहरीको अनुसन्धानप्रति गलत सन्देश जान सक्छ।”
अलनका बुवाले पाएको हैरानी
घटनापछि नयाँ दिल्लीस्थित आयरल्याण्ड दूतावासको पत्र लिएर नेपालका लागि आयरल्याण्डका महावाणिज्य दुतले पीडितका तर्फबाट प्रहरीमा प्रारम्भिक निवेदन दिएका थिए। घटनाको अनुसन्धानमा अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर, परिसर प्रमुख सुदीप गिरी आफैं घटनास्थल पुगेका थिए। शव पोस्टमार्टमपछि आयरल्यान्ड पठाइएको थियाे। र, अनुसन्धान हुने विश्वासमा परिवारले शव बुझेको थियो।
तर, अनुसन्धानले गति लिएन। यसपछि अलनका बुवा गेरी म्याकफिलिप्स आफैं श्रीमतीसाथ नेपाल आए। २२ मंसिर २०७९ (७ डिसेम्बर २०२२) मा प्रहरी वृत्त लैनचौरमा गएर तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतलाई भेटे। भोलिपल्ट लैनचौरका तत्कालीन डीएसपी दुर्गा दाहाललाई भेटे। यसपछि गेरीले १४ पुस २०७९ (२९ डिसेम्बर २०२२) मा प्रहरी प्रधान कार्यालयमा निवेदन दिए।
गेरीका अनुसार मृत्युको निश्चित समय उल्लेख छैन। प्रहरीको भनाइ अलन मृत फेला परेको समय बिहान ५:३० हो। प्रहरी पुग्यो ७:३५ मा। तर, मृत्यु प्रमाण पत्रमा ७:२५ उल्लेख छ। त्यसैले यो संगति नमिलेको अनुसन्धान रहेको गेरी बताउँछन्।
आफ्ना कानुनी सल्लाहकारमार्फत गेरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका तत्कालीन प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हाल प्रहरी महानिरीक्षक दीपक थापा र गृह मन्त्रालयसम्म कुरा पुर्याए। केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान गरिदिन अनुरोध गरे। थापाले तत्कालीन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईलाई घटनाबारे अनुसन्धान गर्न आदेश दिए।
भट्टराई नेतृत्वले पुनः अनुसन्धान गर्दा अलनको मृत्युलाई स्वाभाविकै मान्दै अनुसन्धान टुंग्यायो। पीडित परिवारले त्यसमा चित्त बुझाएन। गेरी घटना भएको तीन वर्षसम्म प्रहरीले यथार्थपरक जानकारी नदिएको बताउँछन्। उनले विस्तृत प्रहरी प्रतिवेदन, फोटो, सीसीटीभी र अनुसन्धान विवरण मागेका थिए। मृत्यु रहस्यमय रहेको भन्दै पर्याप्त अनुसन्धान नभएको गुनासो उनले प्रहरी प्रधान कार्यालयमा राखेका थिए।
म्याकफिलिप्स परिवार न्यायको खोजीमा भौतारिँदा प्रहरीले घटना तामेलीमा राखेको छ। न्याय पर्खिरहेकालाई यसले नेपालमा अनुसन्धान प्रक्रिया पारदर्शी, जवाफदेही र पीडितमैत्री छैन भन्ने सन्देश दिएको छ। मिसिल थन्क्याउने निर्णयपछि प्रहरीमाथि शंका अझै बढेको गेरी बताउँछन्। “मलाई जाहेरी दिनैपर्छ भनेर कसैले भनेन, दूतावासले निवेदन दिएको थियो, मलाई नेपालको कानुनबारे थाहा थिएन, मैले घटनाको अनुसन्धान गरिदिन भनी लेखेको चिठी र आग्रहलाई नेपाल प्रहरीले बेवास्ता गर्दै आएको छ,” उनी भन्छन्।
प्रहरी भने घटना शंकास्पद नभएको दाबी गर्छ। “हामीले तत्कालीन अवस्थामा अनुसन्धान गर्दा जे भेट्यौं, त्यसैका आधारमा मुद्दा नचलाउने निर्णय भएको हो, नेपालमा जे–जस्तो अनुसन्धान प्रविधि र प्रक्रिया छ, हामीले त्यसैगरी अनुसन्धान गर्ने हो। हाम्रोमा बेलायतको जस्तो अनुसन्धान पद्धति छैन,” प्रहरी उपरीक्षक बोहरा भन्छन्, “उहाँहरूको गुनासो सकेसम्म सम्बोधन गर्ने हो।”
यस कारण शंकास्पद
अलन मृत्यु प्रकरण अनुत्तरित प्रश्नहरूको घेरामा छ। अलन वास्तवमै होटलको छतबाट खसेका थिए कि खसालिएका? घटनास्थलमा सँगै रहेका व्यक्ति र उनको भूमिका के थियो? अनुसन्धान स्पष्ट हुन सकेको छैन।
अलन होटलको सातौं तलाबाट खसेको भन्ने प्रहरी मुचुल्कामा परिवारले शंका उठाउँदै आएको छ। अलन खसेको होटलको सातौं तलाको अधिकांश भाग टिनको छानो घेरिएको छ। सुरुमा अलन र जोसेफ होटलको छैटौं तलामा गएर प्यासेजमा बसेका थिए। त्यसपछि सिँढी चढेर सातौं तलामा पुगेको होटलका म्यानेजरको दाबी छ। सातौं तला स्पष्ट देखिने गरी त्यहाँ सीसीटीभी नरहेकाले घटना कसरी भयो भन्ने नखुलेको म्यानेजर मेलिना राईको कागज छ।

सातौं तलाको टिनको छानोमाथि चढ्दै अलन झरेका हुन् वा त्यसबीचमा उनीसँग रहेका जोसेफबीच के–के भयो? सीसीटीभी क्यामरा नभएकाले नखुलेको राईको कागज छ। “अलन आफैं खसे वा खसालिए, सातौं तलाको टिनको छानोबाट अलन खसे भन्ने प्रहरीको प्रतिवेदन नमिलेको देखिन्छ,” गेरीका कानुन व्यवसायी भरतकुमार लकाई भन्छन्, “छानोबाट खसेको भए मानिस सिधा स्विमिङ पुलभित्र छिर्ने देखिन्छ। अलनको शव स्विमिङ पुलबाहिर थियो,” लकाई भन्छन्। आफन्त नआएको मौका छोपेर प्रहरीले बेवारिसे मृत्युझैं घटनाको मुचुल्का उठाएको आशंका उनको छ।
जोसेफलाई त्यतिबेला प्रहरीले सामान्य सोधपुछ गरी छोड्यो, जसमाथि पीडित परिवारको शंका बढी छ। अलन गेरीका कान्छा छोरा थिए। उनी दुबईमा व्यवसाय सञ्चालन गर्न लागिरहेका थिए। नेपाल घुमेर फर्किएपछि उनको गन्तव्य दुबई थियो। त्यतिबेला जोसेफ दुबईमै व्यापारमा सक्रिय थिए। परिवारकाे शंको सुई जाेसेफतिर छ। बाबु गेरीले सार्वजनिक रुपमै जोसेफमाथि शंका रहेको बताउँदा पनि उनीमाथि अनुसन्धान भएन।

कानुन व्यवसायी लकाईका अनुसार जोसेफलाई प्रहरीले तारेखमा छोड्यो, अदालती प्रक्रियामा लगेर राय लिएन। प्रहरीले छोडेको त्यो साधारण कागजमा जोसेफ भन्छन्, “हामीसँग नेपाल आएका अन्य व्यक्ति रोब, जेम्स र एडन थिए। हामीले ड्रिङ्स लियौं, हामी बसेको होटल पत्ता लगाउन सकेनौं। कता सुत्यौं, थाहा भएन। कता गए अलन मैले थाहा पाइनँ। प्रहरीले उठाउँदा पो मैले उसको मृत्यु भइसकेको थाहा पाएँ।” प्रहरीले उनीहरूले कहाँ मदिरा सेवन गरे, उनीहरूसँग अन्य व्यक्ति को थिए भन्ने खोजेको देखिँदैन।
रिसेप्सनिस्ट सन्तोष रिमालले प्रहरीलाई दिएको बयानअनुसार दुवै जना नशाको सुरमा आएका थिए। गार्ड गुरुङलाई ‘होटल मनाङ हो?’ सोध्दै भित्र छिरे। रिसेप्सनमा गएर समेत ‘होटल मनाङ हो?’ अंग्रेजीमा सोध्दै जोसेफले आफूले ३०९ नम्बर रुम बुक गरेर राखेको बताए। ‘आई वान्ट टू स्लिप इन माई रुम’ भन्दै अगाडि बढ्न खोजे।
‘३०९ नम्बर रुम अरूकै नाममा बुक छ, तपाईंहरू गलत ठाउँमा आइपुग्नु भयो भन्दा तिम्रो बोसलाई कम्प्लेन गर्छु भन्दै उनीहरू लिफ्टतिर गए,’ रिमालले भनेका छन्, ‘त्यसपछि चुरोट पिउँदै कराउँदै थिए। रुम पुर्याइदिन्छु भन्दा मलाई गाली गरे, त्यसपछि लिफ्ट चढेर माथि गए।’
घटना हुनुअघि अलनसँग नेपाल आएका व्यक्तिहरूबारे प्रहरीले खोजी गरेन। साँझको समयमा मदिरा सेवन गरेको तथ्य खुले पनि त्यसपछि उनीहरू म्याजेस्टिक होटल नै कसरी पुगे? ३०९ नम्बर कोठा नै किन खोजे? अनुसन्धानले स्पष्ट पार्न सकेको छैन।
उनीहरूलाई होटलले किन सहजै प्रवेश दियो, होटल बुक नगरेका व्यक्ति मदिरा सेवन गरेर आएर छिर्न खोज्दा होटलका गार्ड र रिसेप्सनिस्टले प्रवेश दिइहाले? लिफ्ट चढेर र छैटौं हुँदै सातौं तलासम्म पुग्दा कसैले रोकेनन्? यो पाटोबाट अनुसन्धान भएको देखिँदैन। त्यही होटलको सातौं तलामा अन्य व्यक्तिहरू थिए/थिएनन् भन्नेतर्फ पनि अनुसन्धान छैन।
रातभरि सडकमा गाडी गुड्ने, नजिकैको सीएनआई क्लबबाट हल्लाखल्लाको आवाज आउने गरेकाले आफूले माथि तलाबाट खसेको आवाज नसुनेको रिमालको कागजमा उल्लेख छ। छतबाट कुनै चिजबस्तु खस्दा ठूलो आवाज आउन सक्छ, कर्मचारीले थाहा नपाए पनि गार्डले तुरुन्तै थाहा पाउन सक्थे। ती कुरा अनुसन्धानमा खुलेका छैनन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा केही विवरण दिएर पीडित परिवारलाई थुमथुम्याउने प्रयास गर्यो। परिवारको शंका निवारण गर्न चाहेन। त्यसकारण आफन्तले प्रहरी अनुसन्धान अधुरो र सतही भएको आरोप लगाइरहेका हुन्।
गेरीका अनुसार मृत्युको निश्चित समय उल्लेख छैन। प्रहरीको भनाइ अलन मृत फेला परेको समय बिहान ५:३० हो। प्रहरी पुग्यो ७:३५ मा। तर, मृत्यु प्रमाण पत्रमा ७:२५ उल्लेख छ। त्यसैले यो संगति नमिलेको अनुसन्धान रहेको गेरी बताउँछन्।
प्रहरीले छेउछाउका भवन वा पसलका सीसीटीभी फुटेज सुरक्षित र विश्लेषण गरेन। सबै विदेशी नागरिक, विशेष गरी जोसेफको बयान पूर्ण रूपमा नलिएको र प्रहरीले सार्वजनिक नगरेको गेरी बताउँछन्। “कोठा नम्बर ३०९ को बुकिङ र प्रवेशको विषय प्रस्ट नगर्नुले घटना रहस्यमय छ,” उनी भन्छन्, “त्यतिबेला अलन र जोसेफको साथमा अन्य व्यक्तिहरू थिए/थिएनन्, होटलमा अन्य व्यक्तिहरू कोही आए/आएनन् भन्ने किन अनुसन्धान भएन?”
यस्तै, जोसेफसँग नेपाल आएका अन्य तीन जना बेलायतीलाई साँझ छुट्नुअगाडि के–के भएको थियो भनेर प्रहरीले सोधेन। उनीहरूको बयान र कागज नै प्रहरीले गरेन।
मुद्दा नचलाउने निर्णयमा चित्त नबुझाएर पीडित पक्ष अदालत गएको छ। अलनका बुवा गेरीका नेपालस्थित कानुन व्यवसायी लकाईले ३१ वैशाख २०८२ मा सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
“घटना भएको राति के–के भयो भन्ने विवरण उपलब्ध छैन, केही मुख्य प्रत्यक्षदर्शीको बयान नभएको (रिसेप्सनमा काम गर्ने व्यक्ति, अलन फेला पार्ने व्यक्तिबाहेक) अन्य मानिससँग घटनाबारे सोधी गरिएको छैन, उक्त समयमा होटल क्षेत्रमा अरू कोही प्रवेश गरेका थिए भन्ने पनि स्पष्ट छैन,” उनी भन्छन्।
कानुन व्यवसायी लकाई अनुसन्धान तामेलीमा राखिएपछि मिसिल माग्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा गए। तर कार्यालयले मिसिल हेर्न दिएन। नेपालन्युजले अलन प्रकरणको मिसिलबारे सोध्दा जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीमा फिर्ता भइसकेको बतायो। प्रहरीले पुनः अनुसन्धान हुन सक्ने भन्दै अदालत नपुगेको त्यस्तो मिसिल हेर्न नमिल्ने बतायो।
पीडित मानवअधिकार र सर्वोच्च अदालतमा
छोराको मृत्युबारे फाइल तामेलीमा गएपछि बुवा गेरीले नेपालमा चिनजान रहेका सञ्जय चौधरीमार्फत मानवअधिकार आयोग गुहारे। आयोगले घटनाबारे सोधेपछि प्रहरीले २० जेठ २०८२ मा आयोगमा विवरण पठायो।
आयोगले उक्त विवरण गेरीलाई पठायो। उक्त चिठीमा घटनाबारे छोटो विवरण, फरेन्सिक र पोस्टमार्टम रिपोर्टको विवरण उपलब्ध गराइएको छ। यसमा गेरीले चित्त बुझाएका छैनन्। “मलाई प्रारम्भिक अनुसन्धान नै किन सतही मात्र भयो भन्नेबारे औपचारिक स्पष्टीकरण चाहिएको छ, परिवार र दूतावासले बारम्बार उठाएको चिन्ताको सम्बोधन चाहिएको छ,” उनी भन्छन्।
राष्ट्रिय मानवअधिकार आयोगका सह–सचिव यज्ञ अधिकारीले अलन मृत्यु प्रकरणबारे गुनासो आएको बताउँछन्। “यो पुरानो पनि घटना रहेछ। अहिलेसम्म प्राप्त प्रमाणका आधारमा किटानी जाहेरी नपरेकाले मुद्दा नचलाउने निर्णय भएको रहेछ। घटना भवितव्यजस्तो देखाएर निर्णय गरिएको देखिन्छ,” अधिकारी भन्छन्, “कतिपय रहस्यमय घटनाका विषय लामो समयपछि पत्ता लाग्छन्, प्रहरीसँग बसेर घटनाबारे हामी बुझ्छौं।”
मुद्दा नचलाउने निर्णयमा चित्त नबुझाएर पीडित पक्ष अदालत गएको छ। अलनका बुवा गेरीका नेपालस्थित कानुन व्यवसायी लकाईले ३१ वैशाख २०८२ मा सर्वोच्च अदालतमा निवेदन दिएका छन्। सरकारी वकिल कार्यालयले गरेको निर्णय बदर र पुनः अनुसन्धानको माग राख्दै दिइएको निवेदनमा अदालतले २ जेठमा प्रारम्भिक सुनुवाइ गरिसकेको छ। न्यायाधीश सारंगा सुवेदीको इजलासले यो निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएको छ। यसपछि अदालतले घटनाको बेला अनुसन्धान गर्ने जिम्मेवारीमा रहेका प्रहरी कार्यालयबाट जानकारी मागिरहेको छ। “अदालतले आदेश दिएको खण्डमा घटना फेरि अनुसन्धान गर्न सकिन्छ, पूरै रफादफा गरिएको भन्ने होइन,” प्रहरी उपरीक्षक बोहरा भन्छन्।


