काठमाडौं। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली बुधबार साँझ काठमाडौं आइपुगेको छ।
टोली राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल ओर्लिएको हो। नेपाल र बंगलादेशबीच यही भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ।
करिब २२ महिनापछि रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुन लागेको हो। दुवै देशले सन् २०२२ पछि पहिलोपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्।
साफ च्याम्पियनसिपमा भाग नलिने निर्णय गरेपछि बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न सहमति जनाएको हो। नेपाल र बंगलादेशले अहिलेसम्म खेलेका २४ खेलमध्ये नेपालले १३ मा जित हासिल गरेको छ भने तीन खेल बराबरीमा टुंगिएका छन्।
बंगलादेशले यसपटक २३ सदस्यीय टोली घोषणा गरेको छ। जसमा कप्तान जमल भुइयासहित फोयसल फहिम, तारिक काजी र सोहेल रानाजस्ता नियमित खेलाडी छन्। टोलीमा आक्रमणतर्फ टोपू बरमन (६ गोल), राकिब होसेन (५ गोल) र मोहम्मद इब्राहिम (४ गोल)लाई विशेष जिम्मेवारी दिइएको छ।
इङ्ल्यान्डको लेस्टर सिटीमा खेलिरहेका हम्जा चौधरी भने टोलीमा परेका छैनन्। नेपालले पनि आफ्ना २३ खेलाडी सार्वजनिक गरिसकेको छ। मैत्रीपूर्ण खेल दुवै पक्षका लागि एएफसी एसियन कप छनोटको तयारीमा उपयोगी हुने अपेक्षा गरिएको छ।