काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमाथि भएको सरकारी दमनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै थापाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार जनअपेक्षाविपरीत गैरजिम्मेवार बनेको आरोप लगाए। उनले शान्तिपूर्ण आन्दोलनमा गरिएको बल प्रयोगलाई ‘अस्वाभाविक, निन्दनीय र अक्षम्य’ भन्दै प्रधानमन्त्रीको प्रत्यक्ष जिम्मेवारी रहेको बताएका छन्।
“आजको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ,” थापाले भने, “शान्तिपूर्ण आन्दोलनमाथि गरिएको चरम दमनले देश स्तब्ध भएको छ। अनाहकमा धेरै युवाले ज्यान गुमाउनु हृदयविदारक छ।”
गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिएको उल्लेख गर्दै थापाले घटनाको समग्र राजनीतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिएका छन्।
थापाले कांग्रेस–एमाले गठबन्धन सरकार जनअपेक्षा पूरा गर्न असफल भएको दाबी गर्दै यसको औचित्य समाप्त भएको बताएका छन्। “जनतालाई सुशासनको प्रत्याभूति दिन बनेको गठबन्धनले त्यो नै गर्न सकेन,” उनले भने, “अब यो सरकार रहिराख्नुको औचित्य छैन। कांग्रेसले यो विषयमा गम्भीर पुनर्विचार गर्नुपर्छ।”
उनले युवा पुस्ताले उठाएका मुद्दाहरू आम नागरिकको सरोकारका भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि ठोस कदम चाल्न माग गरेका छन्। “२०४६ सालपछि सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानबिन गर्नुपर्छ,” उनले भने, “पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरी सम्पूर्ण भ्रष्टाचारको अनुसन्धान थालिनुपर्छ।”
थापाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सामाजिक सञ्जाल बन्द गर्नु संविधानविपरीत भएको बताएका छन्। “निर्देशिका २०८० असंवैधानिक भएकाले त्यसलाई खारेज गरिनुपर्छ र सामाजिक सञ्जाल खोल्नुपर्छ,” उनले स्पष्ट पारे।
त्यसैगरी, उनले प्रदर्शनमा हिंसात्मक गतिविधि देखिए पनि आन्दोलन संयमित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। “युवाहरूले संवादमार्फत शान्तिपूर्ण आन्दोलनलाई अगाडि बढाउनुपर्छ,” थापाले आग्रह गरे।