काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश विस्तार गरेको छ।
कर्फ्यू आदेश सिंहदरबार, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी क्षेत्रमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताए।
रिजालका अनुसार राष्ट्रपति कार्यालय उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म छ।
यसैगरी, उपराष्ट्रपति कार्यालय लैनचौरस्थित केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म छ।
यस्तै, नारायणहिटी दरबार संग्रहालय क्षेत्रको केशरमहल चोकदेखि नारायणहिटी दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म छ। यस्तै, दरबार संग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
सिंहदरबार भद्रकाली मन्दिरको पूर्वी कुनादेखि सिंहदरबार मूल गेटसम्म कर्फ्यू छ। सिंहदरबार मूल गेटअगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मन्दिरसम्म कर्फ्यू लगाइएको छ।
पद्मोदय मोडदेखि पूर्व महालेखा परीक्षक कार्षालय अगाडि हुँदै अनामनगर जाने सिंहदरबारको उत्तरपूर्वी मोड र मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म कर्फ्यू लगाइएको छ।
यस्तै, सिंहदरबार मूल गेटअगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू लागेको छ।
यसअघि प्रशासनले कर्फ्यू आदेश बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुली बजार पुल, बानेश्वर चोकदेखिपूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म लगाइएको थियो।
यसैगरी, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यम विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालोसम्म कर्फ्यू लगाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
कर्फ्यू आदेश राति १० बजेसम्म जारी रहने प्रशासनले जनाएको छ।