काठमाडौं। भारी वर्षापछि आएको बाढीले इन्डोनेसियाको बाली टापु र पूर्वी नुसा तेङ्गारा प्रान्तमा कम्तीमा १९ जनाको ज्यान गएको छ भने १० जना अझै बेपत्ता छन्।
बालीस्थित राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीकी प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीका अनुसार आकस्मिक बाढीमा बालीमा मात्रै १३ जनाको मृत्यु भएको छ र छ जना बेपत्ता छन्। साथै विभिन्न क्षेत्रमा १८ वटा भूस्खलन र बाढीको खबर आएको छ।
देशको मौसम विज्ञान, जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सीका अनुसार मंगलबार र बुधबारबीच बालीका केही क्षेत्रमा १५० मिलिमिटरसम्म वर्षा रेकर्ड गरिएको छ। यस साताभरि नै भारी वर्षा हुने चेतावनी दिइएको छ।
पूर्वी नुसा तेङ्गारा प्रान्तमा बाढीले घर र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ। प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीका आपत्कालीन एकाइ प्रमुख ग्यास्पर लोसा मनिसाका अनुसार त्यहाँ छ जनाको मृत्यु भएको छ र चार जना बेपत्ता छन्। उद्धार कार्य निरन्तर भइरहेको छ।
सामान्यतया इन्डोनेसियामा नोभेम्बरदेखि अप्रिलसम्म वर्षा ऋतु रहने गर्छ। यस अवधिमा बाढी, भूस्खलन र सरुवा रोगको जोखिम उच्च हुने गर्दछ। तर जलवायु परिवर्तनका कारण वर्षा ऋतु लामो हुँदै गएको र पछिल्ला वर्षहरूमा तीव्र वर्षा बढ्दै गएकोले प्रकोप अझ गम्भीर बनेको विज्ञहरूले जनाएका छन्।