काठमाडौं। प्रहरीले काभ्रेस्थित बनेपा नगरपालिका-९ बाट ७३० राउन्ड गोलीसहित आठ जनालाई शनिबार साँझ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोलीसहित पक्राउ गरेको प्रहरी उपरीक्षक कोमल शाहले बताए। गोली अधिकांश ‘थ्री नट थ्री’ राइफलका हुन्।
जेन-जी आन्दोलनका क्रममा बनेपा प्रहरी कार्यालयमा आगजनी गरिएको थियो। शाहका अनुसार तलासी गर्ने क्रममा गोली भेटिएकाले प्रहरीबाट लुटिएको हुनसक्ने शंका गरिएको छ। “अहिले अनुसन्धान भइरहेको छ, हामीले लुटिएका हतियार तथा गोली गठ्ठा फिर्ता गर्न अनुरोध गरेका छौं,” शाहले भने।