१४ आश्विन २०८२
अ+
अ-

भक्तपुर। मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत रुपमा दसैँको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदैछन्। बडादसैँलाई महनी नखाःका रुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ ।

विशेष गरेर अष्टमीलाई कुछिभ्वय, नवमीलाई स्याक्वट्याक्व नखाः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखाःमनाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखाःको सुरुआत गर्दछन् भने अष्टमीको दिन कुछिभ्वय खाँदै मोहनी नखाःको भोजको सुरुआत गर्दछन् । कुछिभ्वय खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन रहेको छ ।

वर्षभरी मनाइने चाडपर्वमध्ये मोहनी नखाः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखाः मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यसाय गर्नेहरु घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाइहरु एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखाः मनाउने गर्दछ ।

विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछीभ्वयको विशेष महत्व रहेको छ । यसको परिकारसमेत अन्य भोजकोभन्दा भिन्न प्रकारको हुन्छ ।

कुछीभ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउरासँगै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपीच्यपी (काँचो फर्सीका स-साना दुईथरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौँला, भटमासलगायत परिकार राखेर कुछीभ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए । कुछीभ्वय्मा फलफूलमा अम्बा र केरा अनिर्वाय मानिन्छ ।

कुछिभ्वय खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको राजोपाध्यले बताए । थापिँचा स्वने बेला माटोको सानो घैँटोलाई सलिँचाले घैँटोलाई छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एकटुक्रा राख्ने प्रचलन रहेको राजोपाध्यले बताए । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रुपमा खाइन्छ । यो प्रसाद खाँदा पेटसम्बन्धी विकार हट्ने धार्मिक विश्वास रहेको छ ।

आफन्तको मृत्यु भएर जुठो परे पनि कुछीभ्वय खानुपर्ने मान्यता केही नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराऊको बारा राख्ने प्रचलन रहेको छ ।

नेवार समसदायमा कुछिभ्वयका सन्दर्भमा दुई वटा भनाइ प्रचलनमा रहेको छ । एकथरी भनाइअनुसार कुछिको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो । दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम ‘कुछी भ्वय्’ रहन गएको एकथरीको भनाइ छ भने अर्कोथरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अपभ्रंश भएर कुछीभ्वय हुन गएको भनाइ छ ।

महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसँैको मासु भित्र्याएका छन् । नेवार समुदायमा गुठी, टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएको हो ।

मासु भित्र्याउँदा घरको मूलढोका अगाडि राखेर चोखो पानी छरेर तीनपटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । यो परम्परा घरको नकींबाट गर्ने चलन रहेको छ ।