काठमाडौं। युएईमा सम्पन्न ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी भए पनि बलर सन्दीप लामिछानेलाई दुई खेलमा निलम्बन गरिएको खुलेको छ।
सारजहामा नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि लामिछानेले स्वेच्छाले मैदानमा नखेल्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान) क्यानले बुधबार सार्वजनिक गरेको छ।
सारजहामा २७ सेप्टेम्बरमा नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल भएको थियो। उक्त खेलमा लामिछाने अनुस्थित भएपछि खेलमा सहभागी नभएको बारेमा सर्वत्र चर्चा भएको थियो।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निजको उक्त निर्णयले टिम म्यानेजमेन्ट र खेलाडी एवं समग्र नेपाली क्रिकेटमै असर पर्न गएको हुँदा टिम म्यानेजमेन्टको सिफारिसअनुसार पहिलो खेल लगत्तै बाँकी दुई खेल एवं नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज अवधिभरको लागि निजलाई निलम्बन गरिएको व्यवहोरा जानकारी गराउन चाहन्छु।”
नेपालले पहिलो खेलमा १९ रनको ऐतिहासिक जित हात पारेको थियो। तर, लामिछानेको निर्णयले राष्ट्रिय टिमभित्रको वातावरणमा प्रश्न उठाएको संघले जनाएको छ।
अब नेपाल अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप एसिया/ईएपी फाइनल छनोटतर्फ केन्द्रित भएको छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाउने लक्ष्यसहित टोली युएईबाट ओमान प्रस्थान गरिसकेको छ।